१३ बैशाख २०८१, बिहीबार

भूमिहीन सुकम्वासी लगत सङ्कलन एकाइ कार्यालय स्थापना

Bhumi

धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका भूमिहीन, सुकुम्वासी, अव्यस्थित बसोवास गर्नेहरुको पहिचान गरी लगत सङ्कलनको काम शुरु भएको छ । धनगढी उपमहानगरपालिकाले आज एकाइ कार्यालय स्थापना गरी काम अघि बढाएको हो ।

एकाइ कार्यालयको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । सो अवसरमा नगरप्रमुख वडले जग्गा हस्तान्तरणको प्रक्रिया थाल्नका लागि भूमिहीन सुकम्वासी र अव्यस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम एकाइ कार्यालयबाट सञ्चालन हुने बताउनुभयो ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या समाधानमा धनगढी उपमहानगरपालिकासँग गरेको सम्झौता बमोजिम काम अगाडि बढाइको हो । आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विभिन्न जिल्लाका पालिकासँग पनि सम्झौता गरिरहेको छ ।

स्थानीय पालिकाका प्रमुखको संयोजकत्वमा एक सहजीकरण समिति गठनको व्यवस्था गरिएको छ । धनगढीसहित कैलालीमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या ठूलो छ । ऐलानी जग्गामा बसेको दशकौँ भए पनि उनीहरुको नाममा जग्गा दर्ता हुन सकेको छैन । यस्तो जग्गामा बसोबास गर्ने परिवारलाई बिजुली, पानी, सडकलगायत सेवा सुविधा भने सरकारी निकायबाट उपलब्ध भइरहेको छ ।

जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्ग सडकखण्ड छेउछाउको अधिकांश ठाउँको ऐलानी जग्गामा वर्षौंअघि स्थापना भएका बजार क्षेत्र विस्तार हुँदै गएका छन् ।