७ बैशाख २०८१, शुक्रबार

कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि

corona testkit scaled

हेटौंडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि आजदेखि शुरु भएको छ ।

पिसिआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना सङ्क्रमणको परीक्षण शुरु भएको बताइएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागार्इंका अनुसार पिसिआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो नयाँ विधि आएकाले यसलाई आधारिकता दिएर कोरोना सङ्क्रमण परीक्षण शुरु गरिएको जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण परीक्षणका लागि नेपालमा दुई विधि स्वीकृत भएको छ । जसमा पहिलो पिसिआर तथा दोस्रो एन्टिजेन परीक्षण विधि रहेको बताइएको छ । एन्टिजेन विधिबाट परीक्षणका लागि बिहान तथा दिउँसो गरी दुईपटक जाँचको व्यवस्था गरिएको छ । यो विधिबाट अहिले तत्काल तीन हजार जनाको परीक्षण गर्ने गरी सामग्री आएको उहाँले जानकारी दिनुभयो ।

कोरोना जाँचका लागि पिसिआर परीक्षण जस्तै एन्टिजेन परीक्षण पनि नाकबाट स्वाब निकालेर गरिन्छ । यस विधिबाट कोरोनाको सक्रिय सङ्क्रमित पत्ता लगाउन निःशुल्क परीक्षण गरिन्छ ।

सक्रिय सङ्क्रमितको पहिचान हुन नसक्दा थप सङ्क्रमित बढ्न सक्ने प्रक्षेपण भएकाले सरकारले उक्त नीति राखेको उहाँले भन्नुभयो । पिसिआर परीक्षण गर्दा नतिजा ढिलो हुने तथा खर्च बढी लाग्ने भएकाले एन्टिजेन परीक्षण विधिमा जोड दिइएको हो ।