४ माघ २०७७, आईतवार

चेपाङ गाउँ ईच्छाकामनामा मोटरबाटो पुग्यो

सांकेतिक तस्विर

चितवनको ईच्छाकामना–२ हपनीका शेरबहादुर चेपाङ आइतबार निकै खुशी देखिनुहुन्थ्यो । गाउँमा मोटरबाटो पुगेपछि शेरबहादुर खुशी हुनुभएको हो । खुशी हुदैँ उहाँले भन्नुभयो,“अब घन्टांैसम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज भएको छ ।”

लामो समयको प्रयासपछि गाउँपालिकाको विकट स्थानमा रहेको चेपाङबस्ती हपनी गाउँबाट शक्तिखोर–फिस्लिङ सडकखण्ड अन्तर्गत सोही वडाको वर्लेङमा मोटरबाटो जोडिएपछि गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आइतबार उद्घाटन गर्नुभयो ।

अध्यक्ष गुरुङले लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक खोल्ने काम पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ, यहाँको बासिन्दाले भोग्नुपरेको एउटा समस्याको सामाधान भएको छ ।”

उहाँले गाउँमा सडक पुगेसँगै आयआर्जनका लागि कृषिकर्मममा ध्यान दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो । अधिकांश चेपाङ समुदाय रहेको यस भेगमा गाउँपालिकाले व्यवसायी कृषिका लागि यसअघि उन्नत जातको बीउबिजन वितरणका साथै र तालीम प्रदान गरेको भन्दै थप सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

वडा नं २ मा बिजुली बत्तीका लागि गाउँपालिकाले ६७ लाख बजेट विनियोजन गरिएको समेत उहाँले बताउनुभयो । वडाध्यक्ष पञ्चबहादुर चेपाङले अब यहाँका जनताले उत्पादन गरेको तरकारी बजारसम्म लैजान सहज हुने बताउनुभयो । वडा नं २ को धेरैजसो टोलटोलमा सडक सञ्जालले जोडिसकेको उहाँको भनाइ थियो ।

सडक जोडिएसँगै माथिल्लो काउले, भोटो गाउँ, तोवाङ, हपनीलगायत ११ गाउँका स्थानीयलाई सहज भएको छ । वडाले चेपाङ समुदायको लागि आयआर्जनका कार्यक्रम ल्याउने बताइएको छ । गाउँपालिकाको रु ८५ लाख र केन्द्र सरकारको रु १५ लाख गरी एक करोडको लगानीमा उक्त सडकको नयाँ ट्र्याक खुल्ने काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । भविष्यमा यो क्षेत्रका लागि मुख्य मेरुदण्ड हुने शक्तिखोर–फिस्लिङ सडकमा सबै टोलबाट जोडिने गरी बाँकी सडक निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले एशियाली विकास बैँक एडिबीको अनुदान सहयोगमा शक्तिखोर–फिस्लिङ सडकको कालोपत्रसहित स्तरोन्नतिको काम भइरहेको छ । चितवनको कालिका नगरपालिकाबाट इच्छाकामनाको फिस्लिङस्थित पृथ्वीराजमार्गमा जोडिएको उक्त सडकबाट ईच्छाकामनाको विकट वडा १, २, ३ का स्थानीय लाभान्वित हुनेछन् ।