१५ चैत्र २०८०, बिहीबार

महत्वकाङ्क्षा छाडे अझै ठाउँ छ : प्रधानमन्त्री ओली

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वकाङ्क्षा छाडेर देश बनाउने अभियानमा लाग्नेका लागि आफूले नेतृत्व गरेको नेकपामा अझै ठाउँ रहेको बताउनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज यहाँ आयोजना गरेको बृहत् भेलामा उहाँले महत्वाकाङ्क्षी प्रवृत्ति छाडेर देश बनाउने अभियानमा संलग्न हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अर्का अध्यक्ष, वरिष्ठ नेताहरु सबैको कुर्सी यथावत् छन् । पार्टीका बैठकमा सहभागी नभए पनि देश बनाउने अभियान अघि बढ्न आग्रह गर्दछु ।” आफूले पार्टी र देशका हितमा काम गर्दागर्दै पनि त्यसको विषयमा कहिले नबोलेर हटाउने प्रयास निरन्तर भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आफूले नाकाबन्दीको सामना गरेको र गुमेको भूमि फिर्ता गर्नका लागि संविधान संशोधन गरेको उहाँले बताउनुभयो । यही सरकारले नै चीनसँग नाका खोलेको र भारतसँगको सम्बन्ध माथि उठाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

पहिलो महिला राष्ट्रपति तथा लोकतन्त्रको लडाइँबाट आएको व्यक्तिको इज्जतमाथि धावा बोल्दा पनि नेताले मन्दमुस्कानसहित ¥यालीमा सहभागी भएको उहाँको भनाइ छ । गत वैशाखदेखि पुससम्ममा आफ्नो विरुद्धमा ३१५ पटक बैठक बसेको पाइएको, तीमध्ये २८० बैठक खुमलटार, ३५ कोटेश्वर र अरू होटेलमा बसेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले परिचयपत्र देखाएरभन्दा व्यवहार र बोलीबाट अनेरास्ववियु चिनिनुपर्नेमा जोड दिनुभयो । गाडीमा ज्येष्ठ नागरिकलाई सिट छाड्ने, सबै जात र वर्गलाई सम्मान गरेर आफूलाई चिनाउन उहाँले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंलाई अरू सबैले हेर्दा मीठो बोली, आकर्षक व्यवहार, देशभक्तिको भावना र राष्ट्रवादी चिन्तनबाट चिन्नुपर्छ ।”

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पूर्वमाओवादी एक हुन प्रचण्डले अनुरोध गरेको भन्दै त्यो अवस्थामा पूर्व एमालेलाई पनि फिर्ता पठाउन आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले जनताले राजीनामा मागेको भए दिनुपर्ने तर दुईचारजना नेताले माग्दैमा दिनु नपर्ने बताउनुभयो । उहाँले सरकारले राष्ट्रियता, समृद्धि र विकासका पक्षमा काम गरिरहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष मात्रै नेपाल अतिकम विकसित देशको सूचीबाट निम्न मध्यम आय भएको देशको सूचीमा उक्लिएको छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले प्रचण्ड र माधव नेपाललगायत नेता निर्वाचनमा जान डराइरहेको आरोप लगाउनुभयो ।अनेरास्ववियुका अध्यक्ष ऐन सिंह महरले प्रधानमन्त्री ओलीले जबजब राष्ट्रियताको कुरा उठाउँदा उहाँमाथि प्रहार हुने गरेको बताउनुभयो ।