१६ चैत्र २०८०, शुक्रबार

निर्वाचन पूर्वतयारी छलफल शुरु

ministry of information

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन गर्नुपर्ने आवश्यक पूर्वतयारीबारे मातहतका निकायसँग छलफल गरी राय–परामर्श लिएको छ ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका पदाधिकारीले निर्वाचनका समयमा सेवा प्रवाहमा संस्थागत क्षमता विकास गर्न मन्त्रालयका तर्फबाट सहजीकरणका लागि गरिएको अपेक्षामा केन्द्रित रही सुझाव दिनुभयो ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेअनुरुप निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ । मन्त्रालयले पनि आफ्ना मातहतका निकायलाई निर्वाचनको वातावरण बनाउन र निर्वाचनको तयारीलाई थप प्रभावकारी कसरी तुल्याउन सकिन्छ भनी परामर्श थालेको हो ।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रतिनिधिसभा निर्वाचनमा आमसञ्चारका माध्यमबाट जनतासमक्ष सन्तुलित र वस्तुनिष्ट सूचना प्रवाहलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनी सुझाव माग गर्नुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्रताको उपयोग गर्दा अरूको मर्यादामा पनि त्यतिकै ध्यान पु¥याउनुपर्छ, सत्य र तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न आम सञ्चारमाध्यमलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन के कस्ता विषयमा ध्यान पु¥याउन आवश्यक छ, विगतका अनुभवका आधारमा सुझाव आओस् ।”

छलफलमा मन्त्रालय मातहतका निकायका पदाधिकारीले आ–आफ्नो संस्थाको कार्य जिम्मेवारी, कर्तव्य, दायित्व र निर्वाचनमा गर्न सक्ने योगदानबारे स्पष्ट गर्नुभएको थियो । आवधिक निर्वाचन मुलुककै ठूलो पर्व भएकाले तोकिएका जिम्मेवारीलाई चुस्त र प्रभावकारी तुल्याउन लाग्ने थप आर्थिक दायित्व र उपकरणको उपलब्धताका लागि मन्त्रालयबाट सहजीकरण होस भनी उहाँहरुले आग्रह गर्नुभयो ।

निर्वाचनका समयमा दूरसञ्चार प्रदायक कम्पनीबाट हुने सेवा प्रवाहलाई निर्वाचन मैत्री बनाउन तथा रासस, टेलिजिन, रेडियो र गोरखापत्र संस्थानले निर्वाचन विशेष बुलेटिन, कार्यक्रम, परिसंवाद, छलफल, अन्तर्वार्ता, काउनडाउन, आलेख, स्थलगत रिपोर्टिङलाई सन्तुलित र वस्तुनिष्ट तुल्याउँदै प्राथमिकताका साथ प्रचारप्रसार गर्ने अठोट व्यक्त गरेका छन् ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले निर्वाचनका समयमा विगतमा झँै राससबाट निर्वाचन विशेष बुलेटिन तयार गर्ने, स्थानीय तहसम्म समाचारदाता खटाएर वस्तुनिष्ट र सन्तुलित समाचार, तस्वीर, श्रव्य सङ्कलन गरी प्रकाशन र प्रसारण गरिने जानकारी दिनुभयो ।

राष्ट्रिय पर्वकै रुपमा सञ्चालन हुने निर्वाचनसम्बन्धी समाचारमा छिटोछरितो र गुणस्तरीय तुल्याउन थप जनशक्ति तथा उपकरण आवश्यक पर्ने भएकाले त्यसका लागि लाग्ने थप आर्थिक दायित्वबारे सहजीकरण गरिदिन मन्त्रालयसँग उहाँले अनुरोध गर्नुभयो ।