१३ माघ २०७७, मंगलवार

प्रधानमन्त्री रोजगार : पैदलमार्ग निर्माणमा रोजगारी

तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन हुने आयोजनाको शुभारम्भ गरेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत म्याग्दे गाउँपालिका–४ बाट रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ ।

रोजगार कार्यक्रममार्फत उक्त वडाका नौ जनाले रोजगारी पाएका छन् । बेरोजगार सूचीमा सूचीकृत भएकालाई डडुवागाउँको पैदलमार्ग मर्मतमा खटाइएको गाउँपालिकाका रोजगार संयोजक पवीन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उक्त वडामा बेरोजगार सूचीमा ९९ जना सूचीकृत भए पनि प्राथमिकताका आधारमा नौ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गरिने शाहीले जानकारी दिनुभयो ।

सात वडा रहेको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४४४ जना सूचीकृत भएका छन् । त्यसमध्ये चालु आवमा १५४ ले एक सय दिनको रोजगारी पाउनेछन् । उनीहरुलाई दैनिक रु ५१७ ज्याला उपलब्ध गराइनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालु आवमा रु ८० लाख बजेट प्राप्त भएको छ । बन्दीपुर गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण भइरहेको छ । गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आवमा पनि निरन्तरता दिएको हो ।

मुकुन्देश्वरीबाट रामकोट जोड्ने गरी साइकल लेनको काम भइरहेको गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले जानकारी दिनुभयो । उक्त कामका लागि १५ जनालाई रोजगारी दिइएको छ । गाउँपालिकामा आव २०७७÷७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रमअन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकामा चालु आवमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ । गत आवमा जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको थियो । गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरवास निर्माणलगायतका काम गरिएका थिए ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भरेका थिए ।

‘पानीका लागि अब भौतारिनुपरेन’

तनहुँको देवघाट गाउँपालिका–२ खाल्टेकी तारामाया मल्ललाई खानेपानीको जोहो गर्न खोला धाउनुपर्ने बाध्यता थियो । घरमै खानेपानी नहुँदा केही समय हिँडेरै खोलामा पुगेर पानी ल्याउने उहाँको दैनिकी नै बनेको थियो । तर अब उहाँलाई पानी खोज्दै अन्यत्र भौतारिनु पर्दैन । घरमै धारा जडान भएको छ, टुटी खोलेपछि पानी आउँछ । विगत सम्झँदै उहाँले भन्नुभयो, “पानीको कति दुःख थियो भनिसाध्य छैन, बिहानै उठ्यो एक घण्टा पैदल हिँडेर खोलामा गएर पानी ल्यायो, सधँैको दुःख अब हट्यो ।”

घरमै खानेपानी आएपछि हर्षित देखिनुभएकी उहाँले अब पानी आएपछि त घर नजिक रहेको करेसाबारीमा तरकारी खेतीसमेत गर्ने सोच बनाएको बताउनुभयो । “मानिसलाई खानेपानी हुन्थेन, तरकारी खेती गर्ने त परको कुरा, अब त सहज भयो”, उहाँले भन्नुभयो । स्थानीय धनबहादुर शाहीका अनुसार यहाँका स्थानीयवासी पानीको जोहो गर्नका लागि चित्नेखोला, तातोखोला, दरङखोलामा पुग्ने गर्दथे । “पानीको दुःख हट्दा पनि आनन्द हुने रहेछ”, उहाँले भन्नुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु एक करोड ४७ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका एक सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । अध्यक्ष थापाले यहाँका स्थानीयवासीले खानेपानीको समस्याबाट मुक्ति पाएको र खाल्टे बन्चरे हुँदै देवघाट जोड्ने मोटरमार्ग पनि सहज हुने बताउनुभयो । यही वर्षभित्र बिजुली बत्ती विस्तार गर्नका लागि पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

कृषि र वातावरणलाई जोडेर तनहुँसुरको पर्यटन प्रवद्र्धन

ऐतिहासिक एवं पुरातात्विक महत्वको तनहुँसुरको पर्यटनलाई कृषि र वातावरणसँग जोडेर प्रवद्र्धन गर्ने अभियान शुरु गरिएको छ । सम्पदा नेपालको पहलमा तनहुँसुरको पर्यटन विकासका लागि कृषि र वातावरणलाई जोडेर अगाडि बढाउन अभियान शुरु गरिएको हो ।

ऐतिहासिक महत्व बोकेको तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि ‘एग्रो टुरिजम’ गतिविधि सञ्चालन गर्न लागिएको सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताउनुभयो । विगत केही वर्षयता खण्डहर बन्दै गएको तनहुँसुरमा पछिल्ला केही समयमा पर्यटकको चहलपहल शुरु भएको छ ।

व्यास नगरपालिकाको सहयोगमा सम्पदा नेपालले तनहुँसुरमा सामुदायिक घरवास शुभारम्भ गरेको छ । गत मङ्सिर ८ गतेदेखि १३ गतेसम्म तनहुँसुर सामुदायिक घरवास सञ्चालकलाई तालिम दिइएको छ । तालिमपश्चात यहाँका स्थानीयवासी घरवास सञ्चालनका लागि अग्रसर भएका छन् । उक्त घरवासमा आठ घरधुरी आबद्ध छन् । यहाँका स्थानीयवासी सिलिङे फूलको रुखदेखि धार्नी चौतारीसम्म सिढीबाटो र वृक्षरोपण गर्ने अभियानमा जुटेको घरवास व्यवस्थापन समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । घरवासका अलवा कृषि र पशुपक्षी समूह निर्माण तथा तालिम कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

सम्पदा नेपालका अध्यक्ष गुरुङले व्यास नगरपालिकासँग समन्वय गरेर कृषि तथा पशुपक्षीसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । साथै तनहुँसुर ‘इको ट्रेक’ विकास गर्ने लक्ष्य छ । चमेरे गुफा मुलपानी–भगवतीपानी मन्दिर हुँदै देवस्थल सामुदायिक घरवास भवनसम्म नक्साङ्कनसहित डिपिआर निर्माण गरिनेछ ।

तनहुँसुरमा हाल नेपाल सरकारको सहयोगमा सडक कालोपत्र, तनहुँ कालिका मन्दिर निर्माण, पुरातात्विक सम्पदा संरक्षण एवं विकास, सामुदायिक भवन तथा घरवास पूर्वाधार निर्माण, इन्टरनेट, सडकबत्ती जडान, शिक्षा, स्वास्थ्य, वन तथा कृषिसम्बन्धी कार्यक्रम सञ्चालित छ । तनहुँसुरको थप प्रवद्र्धन र प्रचारप्रसारका लागि आगामी वैशाख ५ गतेदेखि ७ गतेसम्म पर्यटन तथा वातावरण मेला आयोजना हुँदैछ । उक्त अवसरमा तनहुँसुरको पुरातात्विक सम्पदा संरक्षणसम्बन्धी वक्तृत्वकला, खाना महोत्सव, घरवास मार्ट, सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसुरको ऐतिहासिक पक्षलाई ध्यानमा राखेर विकास अभियान सञ्चालन अगाडि बढेकाले त्यहाँबाट बसाइँ सरेर दमौली झरेकाहरु गाउँ फर्किएर विकास अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । “तनहुँसुरको विकासका लागि एकदमै लगनशील भएर लागेका छौँ, तनहुँसुर पुग्ने बाटो कालोपत्रका लागि काम शुरु भएको छ । त्यहाँका बासिन्दा अब पुनः गाउँ फर्किने बेला आएको छ”, उहाँले भन्नुभयो ।

नेपाल एकीकरणपूर्व तनहुँसुर सेनवंशी राजाहरुको राज्य थियो । यस राज्यको ऐतिहासिक विवेचना गर्दा लिच्छवीकालमा लिच्छवी राज्य क्षेत्रभित्र परेको देखिन्छ । पुरातत्व विभागकी अधिकृत मन्जुसिंह भण्डारीले यस ठाउँमा इसाको १६औँ शताब्दीदेखि सेनवंशी राजाहरुले राज्य गरेको ऐतिहासिक तथ्यहरु उपलब्ध रहेको बताउनुभयो । “यस वंशका राजाले तनहुँमा राज्य गर्ने क्रममा तनहुँसुरलाई राजधानी कायम गरी राजदरबार र अन्य सम्पदाको निर्माण गर्न लगाएका ऐतिहासिक प्रमाण एवं उक्त क्षेत्रमा रहेका भग्नावशेषबाट स्पष्ट हुन्छ”, उहाँले भन्नुभयो ।

भग्नावशेषको रूपमा तनहुँसुर दरबार क्षेत्रमा अध्ययन अनुसन्धान गर्न स्थानीयबाट अनुरोध भएपछि पुरातत्व विभागले दुई वर्ष उत्खननका काम गरेको थियो भने एक वर्ष उत्खननको क्रममा प्राप्त भएका संरचनाको संरक्षण गर्ने काम गरेको थियो । उत्खननबाट इँटा बिछ्याइएको आँगन र पानीको निकासका लागि बनाइएको कुलेसो, रानीको नुहाउने स्थल, इनार भेटिएको थियो । साथै गढीमा गरिएको उत्खननबाट ती क्षेत्रको संरक्षणका लागि योजना बनाउन महत्वपूर्ण योगदान पुग्न सक्ने देखिएको पुरातत्व विभागकी अधिकृत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्खननको क्रममा प्राप्त भएका इँट्टा, झिङ्गटी, कलश, पाला, दुईवटा सिलौटा, आधा टुटेको चुरा, त्रिभुवनको पालाको पाँच पैसालाई पनि उपलब्धिको रुपमा लिइएको छ ।

विसं १५७५ देखि १६१० सम्म मणि मुकुन्दसेनले प्रथम शासकका रुपमा तनहुँसुरमा शासन गरेका थिए । यिनले तनहुँ राज्यलाई विस्तार गरी विशाल राज्यमा परिणत गरेका थिए । विशाल राज्यमा परिणतपश्चात राज्य विभाजन गरी अंशवण्डा गर्ने क्रममा छोरा भृङ्गीसेनको भागमा परेको थियो र यी राजाले आफ्नो राज्यको राजधानी तनहुँसुरलाई कायम गरेका थिए । राज्य सञ्चालनका क्रममा तनहुँ दरबार एवं विभिन्न संरचना निर्माणलगायत राज्यको आर्थिक विकासका लागि बन्दीपुरलाई व्यापारिक केन्द्रका रूपमा कायम गरेका थिए । तनहुँसुरमा दरबार, महादेव र विष्णु मन्दिर, खड्ग देवताको मन्दिर छ ।