
एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ।
अस्पतालले मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार देखिएको जानकारी दिएको छ।
प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको सम्बन्धमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार साँझ ७ः०० बजे जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्य समस्या आई मिति २०७६।०८।१० गते मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ’, सेन्टरका तर्फबाट कार्यकारी निर्देशक प्रा।डा। उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिक्समा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। शल्यक्रियापश्चात भेन्टिलेटरमा राखिएपछि मंगलबार प्रधानमन्त्रीसँग कसैलाई पनि भेट गर्न दिइएको थिएन।
मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ, उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेता तथा मन्त्रीहरु प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे पनि भेट गर्न दिइएको थिएन।
बुधबार स्वस्थ्यमा केही सुधार भएपछि प्रधानमन्त्रीलाई पत्नी राधिका शाक्यले भेट गरेकी छन्। अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुधबार दिउँसो जुससमेत पिएका थिए।