७ बैशाख २०८१, शुक्रबार

बाङ्ग्लादेशमा सातजनालाई मृत्युदण्डको फैसला

bangladesh

३ वर्ष अघि बंगलादेशको राजधानी ढाकाको होटल अर्टिसन क्याफे आक्रमणमा संलग्न ७ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ। सन् २०१६मा भएको आक्रमणमा हातहतियार दिन सहयोग गर्ने ७ जनालाई बंगलादेशको अदालतले बुधबार मृत्यु दण्डको सजाय सुनाएको हो।

उक्त घटनामा २२ जनाले ज्यान गुमाएका थिए, जसमा ९ इटालियन, ७ जापानी, एक अमेरिकन र एक भारतीय नागरिक परेका थिए।

आक्रमणका बेला क्याफे भित्र पाँच आतंकवादी छिरेका थिए जसले १२ घण्टा बन्धक बनाएर २२ जनालाई मारे। आक्रमणपछि सेनासँगको दोहोरो भिडन्तमा ति आक्रमणकारीको पनि मृत्यु भएको थियो।

१२ घण्टासम्म जारी उक्त हमला बाङ्ग्लादेशमा गरिएको सबैभन्दा घातक आतङ्कवादी हमला मानिन्छ।

प्रहरीले ८ जनालाई पक्राउ गरे पनि एक जनालाई निर्दोष सावित गर्‍यो। यस आक्रमणलाई बंगलादेशको भयावह घटना मानिएको छ। आक्रमणको जिम्मा आइसिसले लिए पनि बंगलादेश सरकारले स्थानीय आतंकवादीलाई दोषी ठहर्याएको थियो।

कारबाही

फैसला सुनाउँदै न्यायाधीशले ती व्यक्तिले सार्वजनिक सुरक्षामा खलल पुर्‍याएर अराजकता फैलाउन खोजेको उल्लेख गरे।

समाचार संस्था एएफपीका अनुसार अदालतबाट बाहिर निस्कने बेला तीमध्ये केही व्यक्तिले अल्लाहु अकबर अर्थात ईश्वर महान् छन् भन्ने नारा लगाएका थिए।

सो हमलाका गुरुयोजनाकार मानिएकामध्येका एकजना नुरुल इस्लाम मर्जान सन् २०१७ मा प्रतिआतङ्कवाद प्रहरीले गरेको एक कारबाहीमा मारिएका थिए।

सन् २०१६ मा भएको हमला यता त्यहाँको सुरक्षा निकायले गरेका श्रृङ्खलाबद्ध कारबाहीमा एक सयजनाभन्दा धेरै इस्लामवादी मारिएको तथा करिब एक हजारजना पक्राउ गरिएको अधिकारीहरूले बताउने गरेका छन्।