१५ बैशाख २०८१, शनिबार

नेपालको पहिचान परिचित गराउन हुलाक टिकटको टाँचाले सहयोग पु¥याउने छ : मन्त्री गुरुङ

parbat gurung

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको पहिचान परिचित गराउन हुलाक टिकटको टाँचाले सहयोग पु¥याउने बताउनुभएको छ ।

हुलाक सेवा विभागअन्तर्गतको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले आयोजना गरेको ‘हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रम २०७७’ हुलाक टिकटमा स्थानीय पहिचान समावेश गर्ने कामलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

विभागले विगतदेखि नै स्थानीय पर्यटकीय गन्तव्यदेखि धार्मिक र सांस्कृतिक स्थानको प्रतिनिधित्व हुने गरी टाँचा बनाउँँदै आएको पाइएको उहाँको भनाइ छ । अझै धेरै जातजाति र भाषाभाषीलाई समेटेर जानुपर्ने उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यो प्राकृतिक सौन्दर्यसहित कुनै पनि ठाउँको पहिचान गराउने परिचयात्मक कार्यक्रम पनि हो ।”

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक टिकटको टाँचाले नेपालको विविधता देश बाहिरसमेत चिनाउन सघाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले देशभित्रका विविधता समेट्ने कुरालाई निरन्तरता दिनुपर्छ ।”

विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले यसवर्ष हुलाक टाँचमा चार वटा विषयलाई समेटिएको बताउनुभयो । लुम्बिनी शान्ति दौड, नेपाल राष्ट्र बैंकद्वारा निस्कासित प्रथम कागजी नोट, राष्ट्रिय जनगणना, २०७८ र सगरमाथा स्काई ड्राइभसम्बन्धी टाँचा प्रकाशित गरिएको हो ।