११ बैशाख २०८१, मंगलवार

यौनजन्य हिंसाका घटना वृद्धि

International Womens Day

कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन् ।

बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका कारण पर्वतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतले सार्वजनिक गरेको तथ्याङक अनुसार बाल यौन दुराचारका घटनामा उल्लेखनीय वृद्धि भएका छन् ।

सन् २०२० को जनबरीदेखि डिसेम्बरसम्म प्रलेखिकरण गरेको तथ्याङ्कअनुसार पर्वतमा बालयौन दुराचारका घटना मात्रै ११ वटा रहेका छन् । तीमध्ये पाँच बालिका यौन दुव्र्यबहारबाट पीडित भएका छन् भने ६ बालिका बलात्कार घटनाबाट पीडित भएका हुन् । अघिल्लो अङ्ग्रेजी वर्ष २०१९ को सङ्कलित तथ्याङ्कअनुसार बालयौन दुव्र्यवहारका घटना सात, महिला बलात्कारका घटना चार, हत्याका दुई, बम विष्फोट १, घरेलु हिंसाका १० र भौतिक सम्पत्ति क्षतिको एक गरी २९ ओटा घटना अभिलेख गरिएको थियो ।

यो अङ्ग्रेजी वर्षमा बालयौन दुव्र्यवहारका पाँच, बालिका बलात्कारका ६, महिला बलात्कारका एक, घरेलु हिंसाका १६, परिवारका सदस्यबाट हत्या एक, गैर न्यायिक गिरफ्तार चार र आत्महत्या दुरुत्सहानको एउटा घटना सार्वजनिक गरेको छ ।

पर्वतको विहादी गाउँपालिकाका विभिन्न वडामा आफ्नै बाबुबाट तीन बालिका पीडित बनेका छन् । २०७६ पुसदेखि २०७७ पुस सम्मको इन्सेकको तथ्याङ्कअनुसार तीन वर्षीया बालिकादेखि १९ वर्षीया बालिकासम्म जन्मदिने बाबुबाट पीडित बनेका हुन् ।

फलेवासका छात्रालाई कक्षामै प्याड

ग्रामीण क्षेत्रमा अध्ययनरत छात्रा महिनावारी हुँदा विद्यालय नजाने प्रचलन अहिले पनि विद्यमान छ । जसले गर्दा छात्राको पढाइमा समस्या आउने गरेको पाइन्छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले सबै विद्यालयका कक्षा कोठामा स्यानिटरी प्याडको व्यवस्थापन गरेको छ । विद्यालयमै रहेका बेला महिनावारी भएर कक्षा छाडेर विद्यार्थीलाई घर जान नपरोस् र उनीहरुको सिकाइ र पढाइले निरन्तरता पाओस् भन्ने उद्देश्यले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्थापन गरिएको फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमणपछि खुलेका सबै विद्यालयमा पुगेर अध्ययनरत कक्षा ६ देखि स्नातक तहसम्मका छात्रालई वर्षभरि पुग्नेगरी प्याड वितरण गर्न थालिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार केही वडामा रहेका विद्यालयमा वितरण गरिसकिएको छ भने बाँकी वडाका विद्यालयमा पनि आफै विद्यालय पुगेर शिक्षकलाई हस्तान्तरण गर्ने अधिकारीले बताउनुभयो ।

फलेवास नगरपालिकामा माध्यमिक र आधारभूत विद्यालय कक्षा ८ सम्म गरी ३० भन्दा बढी विद्यालय रहेका छन् । कक्षा ६ देखि स्नातक तहसम्म सञ्चालन हुने क्याम्पसमासमेत स्यानिटरी प्याड उपलब्ध गराउनेगरी नगरपालिकाले बजेट विनियोजन गरेको छ । यस वर्ष रु १५ लाख बराबरका स्यानिटरी प्याड खरिद गरी सबै विद्यालयमा उपलब्ध गराउने कार्यक्रम रहेको उपप्रमुख अधिकारीले बताउनुभयो ।

थोरै मूल्यमा पाइने भए पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीले खरिद गरेर प्रयोग गर्नसक्ने अवस्था छैन । घरगाउँमै पाइने फोहर कपडा प्रयोग गर्दा स्वास्थ्यमासमेत समस्या आउने भएपछि नगरपालिकाले यो नमूना कार्य अघि बढाएको नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यसबाट छात्रा प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । मासिक रुपमा कम्तीमा तीन÷चार दिन छात्राको पढाइमा अवरोध आउने अवस्थालाई यसले अन्त्य गर्ने उहाँको विश्वास छ । यसअघि सरकारले एसइर्ईलगायत जिल्लास्तरीय परीक्षामा मात्र स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको थियो । अब भने फलेवासका कक्षा ६ देखि क्याम्पस तहका सबै शिक्षालयमा पर्याप्त मात्रामा स्यानिटरी प्याडको व्यवस्था गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो ।

अहिले नगरभित्रका निजी विद्यालयमा भने वितरण गरिएको छैन । छात्रालाई महिनावारीका बेलासमेत निर्धक्कका साथ विद्यालयमा गएर पढ्न नगरप्रमुख शर्माले आग्रह गर्नुभएको छ । यो महिलाको नियमित प्रक्रिया भएकाले सङ्कोच नमानी यस्तो बेलामा विद्यालय आएर आफ्नो पढाइमा बाधा नपु¥याउनसमेत उहाँको आग्रह छ ।

महाशिलामा अनलाइनबाट घटना दर्ता

महाशिला गाउँपालिकाका सबै वडामा व्यक्तिगत घट्ना दर्ता कार्य अनलाइन प्रणालीबाट शुरु भएको छ । गाउँपालिकाले ६ वटै वडा कार्यालयबाट सोमबारदेखि अनलाइन प्रणालीबाट घटना दर्ता गर्न शुरु गरेको हो । दर्ता कार्यमा संलग्न जनशक्तिलाई आवश्यक तालीम र दर्ता कार्यको शुरुवातका लागि आवश्यक कप्युटर, प्रिन्टर, इन्टरनेटलगायत सामग्री उपलब्ध गराएपछि सेवा शुरु भएको पालिकाले जनाएको छ ।

व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीबाट शुरु भएपछि पारदर्शीता र सुशासनका साथै अभिलेख व्यवस्थित हुने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले सूचना प्रविधिसँग जोड्दिै यसलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन लागिपर्नेे बताउनुभयो ।

नागरिक लक्षित सेवाहरु डिजिटल बनाउने र अधिकतम सार्वजनिक सेवालाई अनलाइन प्रविधिमार्फत लैजाने उद्देश्यस्वरुप सबै वडामा यो प्रविधि विस्तार गरिएको उहाँको भनाइ छ । हरेक व्यक्तिको डाटा अनलाइनमा रहने भएकाले सबैलाई सहज हुने उहाँको विश्वास छ ।

महाशिलाका–१ होश्राङ्दी र वडा नं ४ पाखापानीमा यो सेवा शुरु भइसकेको छ भने बाँकी वडामा पनि विस्तारै शुरु गरिँदै जाने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो । गाउँपालिकाले यसअघि घटना दर्तामा संलग्न हुने कर्मचारीलाई तालीम समेत दिइसकेको ठकुरीले बताउनुभयो ।

यस अघि पर्वतको कुश्मा नगरपालिकाका विभिन्न वडामा अनलाइन प्रणालीबाट घटना दर्ता कार्य शुरु गरिएको थियो ।