१५ बैशाख २०८१, शनिबार

देवीस्थान डाँडामा राष्ट्रिय विभूति कुँवरको शालिक निर्माण

3 1 760x570 1

धुुलिखेलस्थित देवीस्थान डाँडामा राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको शालिक निर्माण गरिएको छ । यससँगै पर्यटकको आगमन समेत बढ्न थालेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि यहाँ साना घुम्ती पसलदेखि होटल रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ । शालिक तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागार्इंले तत्कालीन नालापानी युद्धका सेनापति कुँवरको शालिक निर्माणले र उद्यान निर्माणले पर्यटन प्रबद्र्धनमा थप टेवा पुगेको जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाको आर्थिक सहयोगमा विष्णु दल गण धुलिखेल र उपभोक्त समितिको श्रमदानमा शालिकसहितको उद्यान निर्माण गरिएको जनाइएको छ । उहाँले भन्नुभयो, “यस देवीस्थानडाँडाको लागि अर्को नमूना गन्तव्य हो ।” आठआना जग्गामा निर्माण गरेको शालिकसँगै उद्यान निर्माणका लागि अझै बाँकी रहेको उहाँको भनाइ छ । “अहिले शालिक आसपास सानो उद्यानमात्रै बनेको छ, कोभिडको कारण तत्काल बजेट अभाव भएकाले विस्तृत रुपमा उद्यान निर्माण गर्न पाइरहेको छैन । ”अध्यक्ष चौलागाईँ भन्नुभयो, “अब शालिक अगाडिको चौरलाई ठूलो उद्यान निर्माण गरेपछि यहाँको सौन्दर्यमा थप आकर्षक बन्नेछ ।”

प्राकृतिक रमणीयस्थलसँगै बनेको भौतिक संरचनाले मान्छेको आगमन वृद्धि भएको यहाँका बासिन्दा बताउँछन् । पहिला नाङ्गै देखिन डाँडा अचेल होटल व्यवसायको लागि बन्दै गरेका टहरा र पक्की भवनले भरिन थालेका छन् । पर्यटकको गन्तव्यका लागि थप व्यवस्थित बन्दै गएको र यहाँका साना लगानीमा व्यवसाय गर्नेहरुले पनि आफ्नो गुजारा चलाउन सहज भएको उहाँहरु बताउनुहुन्छ ।

अग्लो डाँडा र स्वच्छ हावापानी र घमाइलो वातावरण भएको कारण देवीस्थानडाँडा पर्यटकको रोजाइँको गन्तव्य बनेको हो । यहाँको प्राकृतिक सेल्फी ढुङ्गा, बुद्ध पार्क, चौरमा खेल्न र घोडा चढेर आनन्द लिन पाउनुका साथै पछिल्लो समयमा नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि शान्ति उद्यान, वीर बलभद्र कुँवरको शालिकसहितको उद्यानलगायतका भौतिक संरचना निर्माण गरेपछि पर्यटक बढ्न थालेका हुन् । धुलिखेल बजारको पिपलबोटबाट त्यहाँ जनाका लागि हजार सिँढी र मोटरबाटोसहितको सुविधा भएका कारण पनि देवीस्थानडाँडा सबैको रोजाइँमा परेको हो ।

बुधबार वीर बलभद्र कुँवरको शालिक अनावरण भएसँगै पर्यटकको वृद्धि हुने अपेक्षा गरिएको छ । काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले इतिसालाई पनि सम्मान गर्ने र ऐतिहासिक पुरुषको पनि उत्तिकै सम्मान गरेको बताउनुभयो ।

नगरपालिका प्रमुख अशोक ब्याञ्जूले नगरपालिका विष्णुदल गण र स्थानीय उपभोक्ताको पहलमा निर्माण भएको शालिक र उद्यानले पर्यटन प्रबद्र्धनमा अर्को सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एकीकरणको वीर पुरुषको सम्मान र सम्झनामा निर्माण गरेको शालिकले इतिहासको सम्मानसँगै भावी पुस्ताको लागि पनि सिक्ने पाउने अध्ययन थलोको रुपमा स्थापित गर्न उद्यान निर्माण गरेको उहाँले बताउनुभयो । नगरपालिकाले हालसम्ममा ३६ वटा उद्यान निर्माण गरिसकेको जनाएको छ ।

    सम्बन्धित समाचार...