१६ चैत्र २०८०, शुक्रबार

नेपाल कोभिड जित्न राम्रो गर्ने देश भएको छ : उपप्रधानमन्त्री पोखरेल

ishowr pokhrel

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ जित्ने देशमा नेपाल राम्रो गर्नेको पङ्तिमा रहेको बताउनुभएको छ । ज्यापु संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले आवश्यक स्वास्थ्यका पूर्वाधारको विकास गर्दै सङ्क्रमण कम गरिरहेको बताउनुभयो ।

पछिल्लो समय आएर सङ्क्रमण निको हुनेको सङ्ख्या बढिरहेको उहाँको भनाइ छ । सरकारले कुनै पनि तयारी नभएको अवस्थाबाट अहिले ८० भन्दा बढी स्थानमा कोभिड परीक्षण गर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो केस हामीले हङकङ पठाएका थियौँ भने अहिले धेरै ठाउँमा परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको छ ।”

मन्त्री पोखरेलले ज्यापु समाजको रचनात्मक सुझावका कारण सरकारले गुठी विधेयक सच्याएको बताउनुभयो । यो समुदायले सङ्गठित र एकीकृतरुपमा आफ्ना माग सरकारलाई बुझ्ने गरी राखेको उहाँको भनाइ छ । देशकै कतिपय ठाउँका गुठीले सामन्तवादलाई बढावा दिए पनि काठमाडौँ उपत्यकाका गुठीले धर्म र संस्कृतिलाई बढवा दिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका गुठी जनताको सम्पत्ति हो र यिनलाई यसरी नै अघि बढाउनुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यो दिवसप्रति सरकारको सहयोग र सद्भाव रहँदै आएको बताउनुभयो । कोषमा अहिलेसम्म रु ६० लाख भएकामा रु ४० लाख थप गर्न गरिएको आग्रहमा उहाँले त्यसप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले केन्द्र सरकार र स्थानीय सरकार दुवैले जात्रा, पर्व र संस्कृति संरक्षणमा चासो दिइरहेको जनाउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहलगायतले ज्यापु समाजले आफ्नो संस्कृतिको उत्थान र विकासमा लागिपरेको बताउनुभयो ।