
जिम्मेवारी हेरफेरको पाँचौं दिन मन्त्रालय पुगे उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादव
उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको भएको बताएका छन्।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबारबाट कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । निजी गाडी चढेर मन्त्रालयमा आएका यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
सत्ता साझेदार दलसँग सल्लाह नै नगरी मन्त्रालय हेरफेर गरेको र मन्त्री हटाएको भन्दै यादव नेतृत्वको समाजवादी पार्टीैले सरकार छाड्ने चेतावनी दिएको थियो।
यसबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श गर्नु भएको थियो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भने, ‘धेरै मन्त्रालयको अनुभव होस्, अनुभवी नेता बनोस् भनेर पठाएको हुनसक्छ । अर्को विषय मिल्ने मन्त्रालयमा पठाउँ भनेर पनि हुनसक्छ । अलि बढी नै माया गरेर पनि हुनसक्छ ।’ उनले मन्त्री हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएको बताए ।
उनले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्ने बेला आएको पनि बताए । उनले भने, ‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौं । अब कार्यान्वयन गर्ने बेला आएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मनत्री हेरफेर गरेका थिए। यसअघि स्वास्थ्य मन्त्री रहेका यादवलाई हेरफेरपछि कानुनमन्त्रीको जिम्मा दिइएको थियो। सो समयमा भारत भ्रमणमा रहेका कारण उनले सोमबारमात्रै पदभार ग्रहण गरेका हुन्।