४ बैशाख २०८१, मंगलवार

बेरोजगारको सहारा बन्दै इन्दिरा

indira gautaum jhapap

मिठो बोली, मन्द मुस्कान, गहुँगोरी, मझौला कद । अरुको समस्यामा सहयात्री बन्ने उहाँको बानी । सबैको मनमुटुमा बस्न सफल सरल र उच्च विचारकी धनी शिवसताक्षी नगरपालिका–११ मा बस्दै आउनुभएकी समाजसेवी ५३ वर्षीया इन्दिरा गौतम बेरोजगारीकी सहारा बन्नुभएको छ ।

सीप नभएकालाई सीप सिकाउने र सिकिसकेकालाई रोजगारी दिने उहाँ गरिब दुःखीका लागि अभिभावक नै बन्नुभएको छ । उहाँ आफैँ ढाकाका विभिन्न पहिरन बनाउन सिकाउने, क्रिस्टलको माला, टप, औँठी, चुरा, पोतेलगायतका सामग्री र सिलाइबुनाइ तालीमसमेत दिनुहुन्छ । सीप सिकेर घरमै महिलाले बनाएका सामग्रीसमेत उहाँ आफैँ खरिद गरेर सहयोग गर्नहुन्छ ।

“म तालीम मात्र दिने होइन”, उहाँले भन्नुभयो, “समाजमा तालीम दिनेको खाँचो छैन । तालीमपछि रोजगारी पनि दिन्छु र उनीहरुको आर्थिकस्तर उकास्न मद्दत गर्छु ।” उहाँले आफ्ना दिवङ्गत श्रीमान् गोपाल गौतमको नाममा ‘गोपाल गौरी दिगो विकास प्रतिष्ठान’ नामक संस्था नै खोलेर सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ । श्रीमान् बितेपछि अरुकै घरमा काम गरेर तीन छोराको पालनपोषण गर्दै आउनुभएकी गौतम विसं २०५५ मा नेपाल प्रहरीमा जागीरे हुनुभयो । प्रहरीको जागीर पाएपछि जीवनयापनमा केही सहजता भए पनि परिवारका सदस्यले दिएको दुःख अझै बिर्सन गाह्रो भइरहेको उहाँको अनुभव छ ।

उहाँले तीन सन्तानलाई समेत विभिन्न रोग लागेका कारण बचाउन नसकेपछि प्रहरीमा खाइरहेको जागीरसमेत छोड्नुभयो । “सन्तान गुमाएपछि पागलजस्तै भएँ, कहिले खोलामा हाम फालेँ त कहिले विष सेवन गरेँ”, उहाँले भन्नुभयो, “खै कसरी कसले बचाउँथ्यो, होश आउँदा जहिले अस्पतालमा हुन्थेँ ।” अस्पतालमा पटक–पटक डाक्टर र नर्सले मठ मन्दिर घुम्न र असहायको सेवा गरेर दिन बिताउन दिएको सल्लाहले नै आज आफू सामाजिक सेवामा समर्पित भएको उहाँको भनाइ छ ।

त्यही जागीरे जीवनमा जोडेको सम्पत्ति नै आज उहाँलाई सामाजिक क्षेत्रमा काम गर्ने दर्बिलो स्रोत बनेको छ । उहाँले जागीरे जीवनमा तत्कालीन इटहरी नगरपालिकामा दुई कट्ठा र झापाकै राजगढमा एक बिघा जग्गा जोड्नुभएको थियो । गौतमले हाल इटहरी महानगरपालिकाभित्र रहेको एक कठ्ठा जग्गा बेचेर प्रतिष्ठानको लिफ्टसहितको रु अढाइ करोडको लगानीमा बन्न लागेको चार तले भवनको शिलान्यास गरिसक्नुभएको छ । विसं २०७४ मा स्थापना गरेको संस्थाको कार्यालय हाल भाडामा छ । भाडामा रहेको कार्यालयमा उहाँले यतिबेला ४० महिलालाई प्रत्यक्ष रोजगारी दिइरहेको बताउनुभयो ।

शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले उहाँले व्यक्तिगतरूपमा संस्था सञ्चालन गरेर नगरकै धेरै बेरोजगार दिदीबहिनीलाई रोजगारी प्रदान गरेकोमा प्रशंसा गर्नुभएको छ । “सबै परिवार गुमाएर सामाजिक कार्यमा लाग्नुभएकी उहाँले नगर गौरवको योजनालाई नै सहयोग पुग्ने व्यक्तिगत लगानीमा तालीम हलसहितको प्रतिष्ठान निर्माण गर्नु सामान्य कुरा होइन”, उपप्रमुख नेपालले भन्नुभयो, “आज ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने भोलि १०० ले पाउने निश्चित छ तर व्यक्तिगतरूपमा गरिएका योजनामा नगरले सहयोग गर्न अप्ठ्यारो भइरहेको हुँदा कसरी गर्ने भन्ने बारे छलफल भइरहेको छ ।”

उहाँले आफ्नो सम्पूर्ण सम्पत्ति समाजसेवामा समर्पण गर्ने गौतमलाई नगरपालिकाले मिलाएर सक्दो सहयोग गर्ने र उहाँकै माध्यमबाट धेरैभन्दा धेरै बेरोजगारलाई रोजगारी प्रदान गर्ने योजना रहेको सुनाउनुभयो । “तीनै तहको सरकारले गर्न नसकेको काम इन्दिरा दिदीले एक्लै गर्नुभएको छ”, स्थानीय पत्रकार विनोद सापकोटाले भन्नुभयो, “कोभिडका कारण रोजगार गुमाएका परिवारका सदस्यलाई जागीर दिनुभएको छ, सीप सिकाएर महिलालाई आत्मनिर्भर बनाउनुभएको छ । आफ्नै लगानीमा यति ठूलो काम गर्ने व्यक्ति भने ओझेलमा हुनुहुन्छ ।”

परिवारका सदस्य गुमाएकी उहाँले तयार गरेको त्यो भौतिक सम्पत्ति भोलि स्थानीय सरकारकै हुने हुँदा शिवसताक्षी नगरपालिकाले आर्थिकरूपमा सक्दो सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले विगतदेखि नै आर्थिक अवस्था नाजुक भएर विद्यालय जान नसकेका नानीहरुलाई लत्ताकपडा किनेर विद्यालय भर्ना गर्ने र जस्तासुकै प्राकृकित विपद्मा पनि राहत लिएर नगरमा सबैभन्दा पहिला गौतम नै पुग्ने गरेको बताउनुभयो ।

    सम्बन्धित समाचार...