१५ चैत्र २०८०, बिहीबार

दुई महिनादेखि अँध्यारो

no electricity andhakar nawayug

सिञ्जा गाउँपालिका–६ जोडु गाउँकी शान्ता बूढा बालबच्चालाई पढाउनका लागि जुम्लाको सदरमुकाम खलङ्गा आउनुभयो । गाउँमा बिजुली नहुँदा बालबच्चालाई पठनपाठन गर्न सहज होस् भनेर उनी जुम्ला सदरमुकाम खलङ्गा आउनुभएको हो ।

यहाँ लामो समयदेखि बिजुलीको चर्को विद्युत्भार कटौतीको मार खेप्नुपरेको उहाँले गुनासो गर्नुभयो । “अहिले यहाँ चार दिनमा एक दिन दुई घण्टा मात्र बिजुली आउँछ”, उहाँले भन्नुभयो, “सहजताका लागि गाउँबाट शहर आइयो । यहाँ पनि यस्तै हालत छ । दियालोको भरमा रात काट्नु परेको छ ।” जुम्लाको सदरमुकाम खलङ्गा बजार अर्थात् चन्दननाथ नगरपालिकामा सातामा ९४ घण्टा विद्युत्भार कटौती हुने गरेको छ । यहाँका नागरिकले चर्काे लोडसेडिङको मार खेप्दै आएका हुन् । घुघुत्ती साना जलविद्युत् आयोजनाको दुवै मेसिनमा बिग्रेपछि चर्काे लोडसिडङको मार खेप्नुपरेको हो ।

नगरपालिकाबासी दुई महिनादेखि अँध्यारोमा बस्न बाध्य छन् । यहाँका नागरिक अँध्यारोमा बस्न थालेको अहिले मात्र भने होइन । हप्ता, महिना हुँदै वर्ष दिनसम्म पनि अँध्यारो खेपिरहेका नागरिकलाई अहिलेको अँध्यारो नौलो लाग्न छाडिसकेको छ ।

घुघुत्ती विद्युत्गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्गा बजारसहित सिंगो चन्दननाथ नगरपालिका गएको कात्तिक दोस्रो सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका लागि ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले एक दिनमा छ घण्टा मात्र चलाउने गरिएको छ ।

एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३०० केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो । विद्युत्गृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा प्लान्ट सञ्चालन हुन सकेन । त्यसयता खलङ्गा अन्धकार छ ।

विसं २०४० मा घुघुत्तीमा उत्पादित विद्युत् गृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको दुई करोड ६३ लाख ७७ हजार र थप तत्कालीन जिल्ला विकास समितिबाट थप रकम गरी तीन करोड नौ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडान भयो । नक्कली नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटकपटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारोमै बस्नुपरेको हो ।

दुईवटै टर्वाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताउनुभयो । “एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ”, उहाँले भन्नुभयो, “अर्कोमा बेरिङ भाँचिएको छ ।” मेसिन मर्मतका लागि कार्य थालनी गरिएको छ ।

डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकाले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताउनुभयो । “मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजेल प्लान्ट सञ्चालन गर्न माग गरेका छौँ”, उहाँले भन्नुभयोे, “अहिले दैनिक छ घण्टा मात्र डिजेल प्लान्ट सञ्चालनमा छ ।”

नागरिक समाजमा अगुवा राजबहादुर महतका अनुसार ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ । उहाँले भन्नुभयो, “एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महीनौँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।” उहाँका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ ।

जिल्लामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अवरुद्ध बिजुली आपूर्ति गर्नका लागि दैनिक छ घण्टाबाट १२ घण्टा डिजेल प्लान्ट सञ्चालन गर्न विद्युत् प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय भए पनि सञ्चालनमा आएन । त्यसैगरी जुम्ला ल्याउन लागिएको ३३ केभी मेसिन छिटो पु¥याउन ध्यानाकर्षण गराएपनि राज्यको ध्यान नपुगेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताउनुभयो ।

जवानदीबाट पाँच मेगावाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइसकेको र आर्थिक वर्ष २०७२÷७३ मा सरकारको नीति तथा कार्यक्रममा परेको हो । तर सरकारले कार्यान्वयन नगरपछि सर्वाेच्च अदालतमा रिट परेको पूर्वसांसद ललितजङ्ग शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “रिट परेपछि सर्वाेच्च अदालतले पाँच मेगावाट बिजुली उत्पादनको काम गर्नु÷गराउनु भनी परमादेशसहितको आदेश गर्दा पनि सरकारले कार्यान्वयन गरेन । यस्ता प्रकारका गतिविधिले पनि यहाँका नागरिक अँध्यारोमा बस्नुपरेको हो । नगरपालिकाभित्र चार हजार २७१ घरधुरी र २० हजार ८८४ जनसङ्ख्या छ ।”

लामो समयदेखि बिजुली आपूर्ति नहुँदा यहाँका सञ्चार गृह प्रभावित भएका छन् । खलङ्गामा सञ्चालित सञ्चारगृह रेडियो, छापा र सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका हुन् ।

नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महतका अनुसार दुई महीनादेखि उपभोक्ता बिजुलीविहीन छन् । सञ्चारगृह बन्द छन् । मोबाइलसमेत चार्ज गर्न नपाएर एकअर्कामा खबर आदानप्रदान बन्द भएको छ ।