६ बैशाख २०८१, बिहीबार

किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता

bufello bonus.

काभ्रेपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता वितरण गरेको छ । कोशिपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई ‘भैँसी सुत्केरी भत्ता’ वितरण गरिएको हो । पनौती नगरपालिका–१२ का किसानलाई भैंँसीको पाडी वितरण गरिएको छ ।

गत वर्ष भैँसीलाई सुत्केरी भत्ता दिएको नगरपालिकाले यस वर्ष लक्षित किसान कार्यक्रमअन्तर्गत पनौती–१२ भूमेडाँडाका अति विपन्न २८ किसान परिवारलाई पाडी वितरण गरेको नगरपालिका कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । वडाको सिफारिसका आधारमा नगरपालिका पुशपक्षी शाखाले सो वितरण गरेको हो । नगरपालिकाबाट पाडी प्राप्त गर्ने किसानका लागि रु दुई लाख बराबरको दुर्घटना बीमा र पाडीको बीमा गरिएको छ ।

त्यसरी पाडी पाएका किसानलाई प्राविधिक जानकारीसहित एक दिने अभिमुखिकरण तालीम दिने जनाइएको छ । आर्थिक समृद्धि तथा किसानको जीवनयापनमा टेवा पु¥याउन सजिलो माध्यम भैँसीको पाडी ‘कालो सुन’ भएकाले यो वर्ष उपहारस्वरुप पाडी वितरण गरेको नगर प्रमुख भीम न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ लाई भैँसी प्रवद्र्धन कार्यक्रम आधार वर्षका रुपमा लिएको छ । शाखाले गरेको अध्ययनको क्रममा लैनो भैँसी खरिदका लागि नगरपालिकाभित्रका किसानले वर्षेनी रु तीन करोड भन्दा बढी रकम बाहिर पठाउने गरेको पाइएपछि यो कार्यक्रम शुरु गरेको जनाएको छ ।

त्यस्तै चौरीदेउराली गाउँपालिकामा ‘किसानसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गर्न थालिएको छ । वडा नं ६ र ८ मा भैँसी सुत्केरी भत्ता वितरण गरिएको छ । सो क्रममा वडा नं ६ का ८० किसानलाई भत्ता वितरण गरिएको छ । सुत्केरी भएपछि प्रत्येक भैँसीले रु एक हजार ५०० का दरले भत्ता पाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।

त्यस्तै वडा नं ८ का ३४ भैँसीपालक किसानले भैँसी सुत्केरी भत्ता वितरण गरेको वडाध्यक्ष धनबहादुर तामाङले बताउनुभयो । यसअघि वडा नं ५ का १८० किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।

त्यससँगै गाउँपालिकाले भैँसीपालक किसान घुम्ती कोषसमेत स्थापना गरेको छ । वडा नं ८ का किसानका लागि भैँसी किन्न सहयोग पु¥याउने उद्देश्यले भैसीपालक किसान घुम्ती कोष स्थापना गरेको हो । वडाध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७४÷७५ मै वडाले रु पाँच लाखको उक्त कोष खडा गरेको र उक्त कोषमार्फत सो वडाका भैँसीपालक किसानले छदेखि आठ महिनाका लागि भैँसी खरिद गर्न लागेको आधा रकम बिना ब्याज ऋण पाउने गरेका छन् ।

त्यसरी खरिद गर्ने किसानले कोषबाटै भैँसीको रु एक लाख बराबर निःशुल्क बीमाको समेत व्यवस्था गरेको छ । वडा कार्यालयका अनुसार १३ जना भैँसीपालक किसान घुम्ती कोषबाट लाभान्वित भएका छन् ।