१६ चैत्र २०८०, शुक्रबार

दमौली अस्पताल गण्डकीकै दोस्रो उत्कृष्ट

damouli hospital

तनहुँको दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये दोस्रो उत्कृष्ट हुन सफल भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको मूल्याङ्कनका आधारमा दमौली अस्पताल दोस्रो हुन सफल भएको हो ।

मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा रहेका अस्पतालको मूल्याङ्कन गरेकामा दमौली अस्पतालले ७७ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाको आधारमा गरिएको मूल्याङ्कनका आधारमा अस्पताल दोस्रो उत्कृष्ट हुन सफल भएको अधिकारीले बताउनुभयो । “सरकारको मूल्याङ्कनले हामीलाई थप काम गर्ने हौसला मिलेको छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयको मूल्याङ्कनमा ७८ प्रतिशत प्राप्त गरी पर्वत जिल्ला पहिलो हुन सफल भएको छ । मन्त्रालयले विभिन्न ७१५ वटा बुँदामा मूल्याङ्कन गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिले अस्पताल सुधारका लागि विभिन्न प्रयास गरिरहेको छ । अस्पतालमा नयाँनयाँ सेवा थप हुने क्रम जारी छ । हालै मात्र अस्पतालमा थाइराइडको उपचारको उपकरण आइपुगेको छ । उपकरण सञ्चालनपछि जिल्लामै पहिलोपटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुनेछ ।

अस्पतालमा गत हप्ता मात्रै चार थान भेन्टिलेटर आएको थियो । हालै मात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको अधिकारीले बताउनुभयो । विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको सो मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

पन्ध्र शय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञसहितको सेवा दिन सकिने बताउनुभयो ।

अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूति रोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्यावरोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्य चौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।