१४ बैशाख २०८१, शुक्रबार

सुकुम्बासीले जग्गा पाउने

sukumbasi basti

धनगढी उपमहानगरपालिकाभित्रका भूमिहिन सुकुम्बासीलाई जग्गा हस्तान्तरण गरिने भएको छ । उपमहानगरपालिका र भूमिसम्बन्धि समस्या समाधान आयोगबीच जग्गा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उपमहानगरपालिकाले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरिने जनाएको छ । उपमहानगरपालिकाले कानूनमा व्यवस्था भएअनुसार स्थानीय तहको सहजीकरण समितिले आजबाट काम थालेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

नगरमा रहेका भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने उहाँले बताउनुभयो । काम गर्नका लागि उपमहानगरपालिकामा नै छुट्टै एकाइ गठन गरेर काम थालिने जनाइएको छ ।

उपप्रमुख सुशीला मिश्र भट्टले छोटो समयमा धेरै काम गर्नेगरी सम्झौता भएको बताउँदै प्रभावकारी रुपमा छिटो काम गर्नुपर्ने बताउनुभयो । कुन क्षेत्रको कस्तो जग्गा कस्ता व्यक्तिलाई हस्तान्तरण गर्ने भन्ने कुरा भूमि सम्बन्धि समस्या समाधान आयोगको कानूनअनुसार गरिने छ ।

विगत १० वर्षदेखि बसोवास हुँदै आएको बन क्षेत्र नभएको र हदबन्दी भएको जग्गा मात्रै वितरण गर्न पाइने बताइएको छ । अन्यत्र जग्गा जमिन भएका तर जग्गा ओगटेर बसेकाले जग्गा पाउने छैनन् । नदी, खोला, सडक, धार्मिक तथा सांस्कृतिक क्षेत्र वरीपरिको जग्गा हस्तान्तरण गर्न नपाउने व्यवस्था छ ।

    सम्बन्धित समाचार...