७ बैशाख २०८१, शुक्रबार

कुरीतिविरुद्ध महिला

International Womens Day

पछिल्लो समयमा जुम्लाका महिला बालविवाह विरुद्धको अभियानमा लागि परेका छन् । यहाँका परम्परागत रीतिवाजलाई अत्यगरी बालविवाहमुक्त समाज निर्माण गर्न लागि परेको कनकासुन्दरी गाउँपालिका–६ की एकमाया हमालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सो अभियानमा निरन्तर लागेको छु । बालविवाह गर्दा स्वास्थ्यमा हुने हानी र जीवनमा भोग्नुपर्ने समस्याका बारेमा यहाँका दिदीबहिनीलाई सल्लाह दिन्छु ।” उहाँ महिनामा एक दिन बालविवाहजस्ता समाजमा हुने सबै प्रकारका कुरीति अत्य गर्नकै लागि छुट्याउनुहुन्छ । गाउँगाउँमा पुगेर कुरीतिका कारण समाजमा हिंसा फैलिदो अवस्थामा छ । परिवर्तित् समयको बेगसँगै हाम्रो मानसिकतामा पनि परिवर्तन ल्याउन जरुरी छ । समाजले जन्माएका नकारात्मक पाटा पक्ष केलाएर पन्छाउन जरुरी रहेको हमालले बताउनुभयो ।

हमाल एक उदाहरण मात्र हुनुहुन्छ । अहिले सो गाउँपालिकामा उहाँ जस्तै महिलाले १११ समूह बनाएर कुरीतिविरुद्ध अभियान नै चलाएका छन् । “पहिले गाउँमासभा सम्मेलन हुँदा परिचय दिन कठिन हुन्थ्यो”, हमालले भन्नुभयो, “अहिले निर्धक्क भएर परिचय दिन्छौँ । समूहमा नियमित बैठक बस्छौँ । अन्यायपूर्ण क्रियाकलापका विरुद्धमा आवाज उठाउन थालेका छौँ । यहाँका महिलाको अहिले साहस बढेको छ ।” गाउँमा महिला सक्रिय हुन थालेपछि गाउँभित्र हुने विकृतिजन्य क्रियाकलाप हट्दै जान थालेको हमालले बताउनुभयो ।

यहाँका महिला पुरुषले महिलामाथि गर्ने अन्यायका बारेमा मात्र वकालत गर्दैनन् । महिलाले महिलामाथि गर्ने अन्यायको बारेमा समेत आवाज उठाउने गरेको तिला गाउँपालिका–१ का सुन्दरी रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरुषबाट अधिकांश महिला हिंसामा परेका छन् । महिला पुरुष दुबैलाई हुने अन्यायका बारेमा बोल्न थालेका छौँ । कसैलाई न्याय दिने सवालमा अन्यायमा पर्न पनि दिँदैनौँ ।” महिलाले गाउँमा बालविवाह, बहुविवाह रोक्नेजस्ता काम महिला लागि परेका रावतले बताउनुभयो । श्रीमान्ले श्रीमतीलाई कुटपिट नगर्ने, श्रीमतीले श्रीमान्को आदार सम्मान गर्ने विषयमा समूहमा छलफल हुने गरेको छ । बहुविवाह गर्दा नागरिकता बन्दैन । विवाह दर्ता हुँदैन । त्यसलै बहुविवाह गर्नु हुँदैन भन्ने सन्देश दिन थालिएको छ ।

आइएनएफ जुम्लाका प्रमुख अभिसेक विकले पछिल्लो समयमा यहाँका महिला अधिकार खोज्ने अभियानमा सक्रिय हुन थालेको बताउनुभयो । आइएनएफको पावर परियोजनाअन्तर्गत महिलाले गाउँगाउँमा समूह निर्माण गरेका छन् । हरेक समूहमा पुरुष पनि सहभागी छन् । विकास निर्माणका हरेक क्रियाकलापमा समान हक खोज्न थालेका छन् । उपभोक्ता समितिमा अध्यक्ष र सचिवमा दाबी गर्न थालेका छन् । विकास निर्माणमा हुने अनियमितता पर्दाफास गर्छन् । बिल भरपाइ मागेर छानबिन गर्नसक्ने भइसकेको प्रमुख विकले बताउनुभयो ।

गाउँको विकासमा महिलाले गरेको कार्य अति राम्रो रहेको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । सर्वोदय नेपालका प्रमुख कमल खत्री समाज विकासमा महिलाको नेतृत्वदायी भूमिका देख्न पाइएको बताउनुभयो । महिलाको हक अधिकारका विषयमा गाउँपालिकाले गर्न आवश्यक सहयोग गरेको कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताउनुभयो ।