१३ बैशाख २०८१, बिहीबार

मोबाइल एप ‘कृषि पथ’ सार्वजनिक

Capture

आज कृषकलाई लक्षित गरी मोबाइल एप ‘कृषि पथ’ सार्वजनिक गरिएको छ । कृषकले उत्पादन गरेका कृषिउपजको सहज बिक्री वितरण, तरकारी बालीलगायत मौसमसम्बन्धी जानकारी कृषकले सो एपबाट पाउने बताइएको छ ।

साना तथा घरेलु उद्योग महासङ्घ बाँके शाखाले केयर नेपाल र बी–ग्रुपसँगको सहकार्यमा एप सार्वजनिक गरेको हो । एपको प्रयोगबारेमा बाँकेका आठवटै स्थानीय तहमा रहेका सहकारीमार्फत कृषकसम्म सूचना पु¥याउने गरी तयारी भइरहेको साना तथा घरेलु उद्योग महासङ्घ शाखा अध्यक्ष मधु खड्काले जानकारी दिनुभयो ।

इन्टरनेटको पहुँचमा नरहेका किसानलाई लक्षित गरी कल सेन्टरको पनि व्यवस्था गरिएको उहाँको भनाइ छ । बाँकेका किसानले जिल्लाको कलसेन्टर १६१६८१५२९५० मा कल गरेर एपका माध्यमबाट निःशुल्करुपमा कृषि जानकारी लिन सक्ने जनाइएको छ ।

लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मोबाइल एप सार्वजनिक गर्दै प्रविधिको प्रयोग कृषिको विकास सहज हुने बताउनुभयो । उहाँले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने समस्या रहेकामा यो समस्या समाधानका लागि पनि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले पनि किसानलाई लक्षित गरी खजुरामा कल सेन्टर सञ्चालन गर्न लागेकाले सहकार्य र समन्वय गर्न घरेलु महासङ्घलाई मन्त्री पौडेलले आग्रह गर्नुभयो ।

स्मार्ट कृषि गाउँ र हरित अभियानका लागि बाँकेका ८१ वडामा सहजकर्ता रहेका जानकारी दिँदै मन्त्री पौडेलले कृषकलाई लक्षित गर्दै प्रदेश सरकारले न्यून ब्याजमा ऋण दिन सकिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।