६ बैशाख २०८१, बिहीबार

नागरिकसँग सेना

nepal army

कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्ध र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन । सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका कारण सेनाप्रति नागरिकको दृष्टिकोण सकारात्मक थिएन । नागरिक सेनाको नजीक पर्न चाहँदैनथे तर अहिले समय फेरिएको छ ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाली सेनाको व्यवहार परिवर्तन भएको छ । नेपालको संविधानको धारा, २६७ ले निर्दिष्ट गरेबमोजिम नेपाली सेनाको पहिलो कार्य भनेको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हो तर सेनाले यसका अलावा नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउन सामाजिक क्षेत्रका काममा पनि सक्रियता बढाएको छ ।

गौरवका आयोजना निर्माण, ऐतिहासिक गढीको संरक्षण, बाढी, पहिरोलगायत विभिन्न विपद् व्यवस्थापनमा नेपाली सेना खटिँदै आएको छ । सेवाको भावना लिएर नागरिकसँग जोडिनका लागि सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुहुन्छ, नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति, उपरथी सञ्जय थापा । “मुलुकमा शान्ति कायम गर्नु हाम्रो कर्तव्य हो तर सेनाले यसका अलावा नागरिकको जीवनस्तरसँग जोडिएका सामाजिक कामलाई प्रभावकारी ढङ्गले पूरा गर्न दृढ भएर लागेको छ”, उपरथी थापा भन्नुहुन्छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र मृतकको शव व्यवस्थापनमा पनि सेनाले सक्रिय भूमिका निर्वाह गरेको उपरथी थापाको भनाइ छ ।

नेपाली सेनाको मध्य पश्चिम पृतनाले रुपन्देहीको मर्चवारी गाउँपालिकामा व्यवस्थित हाटबजारको निर्माण गरेको छ भने सल्यानको दार्मा गाउँपालिकामा प्रसूतिगृहको निर्माण गरेको छ । रुपन्देहीकै विकट मानिने मर्चवारी क्षेत्रमा व्यवस्थित हाटबजार निर्माणपछि त्यहाँका स्थानीयवासी खुशी भएका छन् । सेनाले विभिन्न जिल्लाका ऐतिहासिक गढी, किल्ला र पदमार्गको संरक्षण तथा संवद्र्धनको काम गर्दै आएको छ । जसअन्तर्गत पाल्पा दरबार सङ्ग्रहालयमा सेनासँग सम्बन्धित सामग्री राखिएको छ भने बुटवलको जितगढी किल्लाको स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया शुरु भएको छ ।

संरक्षण र संवद्र्धनका लागि विभिन्न क्षेत्रको पहिचान गरी प्रक्रिया अघि बढाइएको मध्य पश्चिम पृतनाले जनाएको छ । जसमा शिवगढी स्तरोन्नति, प्यूठानस्थित भित्रिकोट दरबार, पाल्पाको वाकुमगढी, नुवाकोटगढी, माथागढी र बल्डेङ्गगढी, गुल्मीको गुल्मी दरबार, धुर्कोट, इस्माकोट, मुसिकोट छन् । कपिलवस्तुको मधुवन धाममा बोटानिकल गार्डेनको निर्माण गरिएको छ भने दाङको छिल्लिकोट मालिका मन्दिर परिसरमा सेडघर तथा शौचालय निर्माणको काम शुरु हुँदैछ । प्यूठानको स्वर्गद्वारी आश्रम परिसरमा रहेको शान्तिवाटिकामा म्युजिकल फाउन्टेन निर्माण गरेको छ ।

कोरोना महामारीकोे नियन्त्रण र कोरोनाका सङ्क्रमणका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनको जिम्मेवारी सेनाले नै निर्वाह गरेको छ । सेनाको मध्य पश्चिम पृतनाले अहिलेसम्म २४१ जनाको शव व्यवस्थापन गरेको छ । जोखिम मोलेर पनि सेनाले गरेको यस कार्यले गर्दा अप्ठ्यारो परिस्थितिमा सेना चाहिने रहेछ भन्ने आम नागरिकले महसुस गरेका छन् ।

नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र वीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । देशमा कुनै अप्ठ्यारो परिस्थिति सृजना भयो भने सेना परिचालन गर्ने संवैधानिक व्यवस्था छ । इतिहासदेखि वर्तमानसम्म नेपालमा सेनाप्रतिको जनताको सद्भाव, आस्था, मान्यता र विश्वास उच्चकोटीको छ । नेपाली सेनाले संवैधानिक सरकारको आदेश र सैनिक ऐनको परिधिलाई कहिल्यै ननाघेका कारण पनि जनताको मन जित्दै गएको देखिन्छ । “हामी सङ्गठनको निर्देशनलाई आत्मसात् गरेर अगाडि बढ्छौँ, आफ्नो कर्तव्यमा पछि नहटी अनुशासित ढङ्गले काम गर्छौं”, मध्य पश्चिम पृतना मुख्यालयका जनसम्पर्क अधिकृत ऋचा राज्यलक्ष्मी सिंहले भन्नुभयो । मध्य पश्चिम पृतना मुख्यालयअन्तर्गत रुपन्देही, कपिलवस्तु, दाङ, रोल्पालगायत १३ जिल्ला पर्दछन् ।

शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकाले नै बढी बुझेको हुन्छ । बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । यस सन्दर्भमा विवादरहित ढङ्गले नेपाली सेना राज्य र नागरिकको सुरक्षामा खटिएको छ”, भन्नुहुन्छ एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक शिव गौडेल । “विगतका द्वन्द्वकालमा भएका घटनाका कारण नागरिकले सेनालाई हेर्ने दृष्टिकोण फरक थियो । अहिले सेनाले निर्वाह गरेको सामाजिक भूमिकाका कारण सेनाप्रति नागरिकको विश्वास बढ्दो छ”, संयोजक गौडेल भन्नुहुन्छ । जनताको स्वास्थ्य, सुरक्षा र विकासका क्षेत्रमा सेनालाई परिचालन गर्दा छिटो, छरितो र कम खर्चमा आयोजना पूरा हुने गरेकाले सेनाप्रति नागरिकको धारणा सकारात्मक बन्दै गएको उहाँ बताउनुहुन्छ ।

नेपालीको संस्कार, परम्परा र सोचाइ जे छ सेना पनि त्यही परिवेशबाट अलग रहन सक्दैन । नेपाली सेनाको अनुशासन, देशप्रतिको योगदान र सरकारप्रतिको निष्ठा अझै उचो बनाउन नागरिक समाजको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । अबका दिनमा जनता र सेनाबीचको सम्बन्ध अझै सुधार हुन आवश्वक छ । विगतका दशकमा नेपालको विभिन्न सरकार र सेना आफैँले पनि यस पक्षमा मनोवैज्ञानिक ढङ्गले प्रभावकारी पहल गर्न सकेनन् तर अहिले सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएर सेनाले जनतासँगको सम्बन्ध प्रगाढ बनाउने प्रयास गरिहेको संयोजक गौडेको भनाइ छ ।

    सम्बन्धित समाचार...