१४ बैशाख २०८१, शुक्रबार

६५ लाखको गहना बरामद

चादी

जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जबाट ६५ लाखभन्दा बढी मूल्यको चाँदीको गहना नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–६ गहवामा सञ्चालित रहेको जय नरसिंह ज्वयलर्सको गोदामा छापामारी प्रहरीले ६५ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भित्र्याइएका गहना भण्डारण गरी राखिएको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणका गहना बरामद गरिएको प्रहरी उपरीक्षण गङ्गा पन्तले जानकारी दिनुभयो । समान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ज्वायलर्सकी सञ्चालिका सुनिताकुमारी सर्राफका श्रीमान् दीपक सर्राफलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

बरामद गरिएको गहना र नियन्त्रणमा रहेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भएको उपरीक्षण पन्तले जानकारी दिनुभयो । बरामद भएका सबै गहना नेपालमै उत्पादन गरिएको र सबै गहनाको कागजात दुरुस्त रहेको सुन चाँदी व्यवसायी सङ्घ पर्साका उपाध्यक्ष बच्चा सर्राफले जानकारी दिनुभयो । उहाँले प्रहरीलाई सबै कागजात देखाउदा व्यवसायीलाई दुःख दिने काम मात्र गरिएको आरोप लगाउनुभयो ।