६ बैशाख २०८१, बिहीबार

पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने तयारीमा मनोज गजुरेल

manoj gajurel
फाइल फोटो

हास्यव्यंग्य कलाकार मनोज गजुरेलले डिभोर्स भएको ३ वर्षपछि पनि आफुमाथी हुने गाली बेइज्जती नरोकिएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन्। पटक पटक पूर्वश्रीमतीबाट सामाजिक सञ्जाल तथा युटुवबाट आफुमाथी गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका हुन्।

उनले मध्यराती सामाजिक सञ्जालमार्फत पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पु¥याएको बताएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै ५ वटा बुँदामा आफुले विभिन्न गाली बेइज्जती सहनु परेको आफ्नो व्यथा पोखेका छन्। अहिलेसम्म आफु चुप लागेर बसेर विभिन्न आरोपले गर्दा आफु र छोराछोरीमा नकरात्मक असर पर्दै गएकोले बाध्य भएर स्पष्टीकरण दिनुपरेको स्टाटसमा लेखेका छन्।

‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु,’मनोजले लेखेका छन्।

उनले छोरी आमासँग बस्न नसकेर बुवासँगै आएको र छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको बताएका छन्। उनले लेखेका छन्,‘ डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति थियो । तर डिभोर्सको ८ महिनापछि नै छोरी आमासँग बस्न नरुचाएर घर फर्केकी छन्।’ उनले आर्थिक कुरा भने उठाएका भने छैनन्। मनोज र मीना ढकालबीच डिभोर्स गर्दा मनोजले एक करोड ३० लाख रुपैयाँ दिएका थिए, जसमध्ये ६५ लाख छोरीको भाग भन्दै मीनालाई दिइएको थियो ।

यस्तो छ गजुरेलको स्टाटस

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु ।

२. सकिएकाे सम्बन्धकाे आधारहीन आरोप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- म र मेरा सन्तानक फोटो, नाम र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद 🙏