१२ बैशाख २०८१, बुधबार

परिवर्तन गरेसँगै उपेन्द्र यादव सरकारबाट बाहिरिने सम्भावना

Upendra Yadav

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदमा केही परिवर्तन गरेसँगै सत्ता गठबन्धनमा पनि फेरबदल आउने भएको छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका उपेन्द्र यादवको मन्त्रालय बदलेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उनलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भानुभक्त ढकाल आएका छन् ।

यस्तै उपेन्द्र यादवको पार्टीबाट स्वास्थ्य राज्य मन्त्री रहेका डा. सुरेन्द्रकुमार यादवको पद खोसिएको छ । यसले सरकारलाई समर्थन गर्दै आएको समाजवादी पार्टीले अब समर्थन फिर्ता लिने लगभग निश्चित भएको छ ।

मन्त्री उपेन्द्र यादव अहिले एक कार्यक्रममा सहभागी हुनका लागि भारतमा छन् । जनताले अनुभूत गर्ने गरी काम गरेर देखाउन सकिने स्वास्थ्य मन्त्रालयमा रहेका यादव सैद्धान्तिक तथा प्राविधिक विषयमा बढी केन्द्रित हुने कानून मन्त्रालयमा सारिएपछि खुशी छैनन् ।

तर स्मरण गर्नु पर्ने यो छ कि स्वास्थ्य मन्त्रालयमा रहेर पनि यादवले अनुभूत गर्न सक्ने गरी काम गर्न सकेको देखिएको थिएन उनी अधिकांश समय मन्त्रालयको काममा संलग्न हुनुको सट्टा विदेश भ्रमणमा व्यस्त रहेको आरोप लाग्दै आएको छ ।

यस्तै यादवले सरकारको लगातार आलोचना गर्दै आएका छन् । यहि कारण प्रधानमन्त्री ओली र यादवबिच पछिल्लो महिनादेखि बोलचाल बन्द भएको अवस्था थियो । झण्डावाला सरकारी गाडीमा चढ्ने र त्यसबाट ओर्लने बित्तिकै सरकारकै आलोचना गर्ने भन्दै ओलीले यादवको आलोचना गरेका थिए । यस्तै गरिरहने भए सरकार छोड्न ओलीले यादवलाई भनेका थिए ।

यादवको समाजवादी पार्टीले पछिल्ला दुई बैठकमा सरकारबाट बाहिरिने बारे छलफल गरेको थियो । तर निर्णय भने गर्न सकेको थिए । मंसिर १४ गते हुने उपचुनावपछि सरकारबाट बाहिरिएको निर्णय गर्ने तयारीमा यादव थिए । आफ्नो मन्त्रालय फेरिएको र एक राज्य मन्त्री पनि खोसिएको अवस्थामा यादवले अब चाँडै नै सरकारबाट बाहिरिने निर्णय गर्ने आफू निकटका नेताहरुलाई बताएका छन् ।

भारतमा रहेका यादवले बुधबार मन्त्रीपरिषदमा केही परिवर्तन भएपछि आफू निकटका नेतालाई फोन गरेर आफू काठमाडौँ आए लगत्तै सरकारबाट बाहिरिने निर्णय लिने बताएको स्रोतले जानकारी दिएको छ ।

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारको शक्तिमा केही परिवर्तन त हुने छैन, तर तत्कालका लागि विपक्षमा रहने सांसद तथा पार्टीको संख्या भने बढ्ने छ । यस्तै सरकारमै रहेर सरकारको आलोचना गर्दै आएको पार्टीले बाहिरिएपछि त्यसलाई थप सघन भने पक्कै बनाउने छ ।

दिल्लीमा रहेका मन्त्री यादव शुक्रबार स्वदेश फर्किने समाजवादी पार्टीका नेता शिवजी यादवले जानकारी दिएका छन् । सरकारमा रहने या नरहने निर्णय गर्ने अधिकार केन्द्रीय समितिले पदाधिकारीलाई दिएकाले फेरिएको परिस्थिति र सरकारमा रहने या नरहनेबारे पदाधिकारीमा छलफल हुने उनले बताएका छन् ।