fbpx
१ बैशाख २०७८, बुधबार

कांग्रेस उम्मेद्वारकी श्रीमतीद्वारा नेकपाका उम्मेद्वारलाई विजयको शुभकामना

सुकुम्बासीलाई धनीपुर्जा वितरण गरिने

मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका उम्मेद्वार प्रकाश राईलाई नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईकी श्रीमती रिमा चाम्लिङले विजयको शुभकामना दिएकी छन् ।

धरानको चुनावी घरदैलो अभियानमा धरान–१८ स्थित तिलक राईको निवासमा पुगेका नेकपाका उम्मेद्वार प्रकाश राईलाई श्रीमती चाम्लिङले मेयर पदको लागि जितको शुभकामना दिइन् ।

उनले आज प्रकाश राईलाई टिका र फुलमाला पहिराएर जितको शुभकामना दिएकी हुन् । यसैवीच धरान १८ का वडाध्यक्ष प्रवीण राईकी श्रीमती सविना राईले पनि घरदैलो अभियानमा पुगेका नेकपाका उम्मेद्वार प्रकाश राईलाई जितको शुभकामना दिइन् ।

उपनिर्वाचनका लागि धरानमा नेकपाको चुनावी घरदैलो अभियान तीव्र भइरहेको छ । मंगलबार धरान १८ र धरान ११ मा उम्मेद्वार राई सहित नेकपाको घरदैलो अभियान भएको थियो ।

यसैबीच नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सहसंयोजक मुरारी सुवेदीले कार्यविधि आउने वित्तिकै सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताए । मंगलबार धरान–३ मा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै नेता सुवेदीले धरान उपमहानगरपालिकाले सुकुम्बासीको लगत उठाइरहेको र संघिय सरकारले भूमिसुधार ऐन ल्याइसकेको भन्दै कार्यविधि आउने वित्तिकै धरानका सुकुम्बासीलाई धनीपूर्जा वितरण गरिने बताए ।

उनले धेरै काम सम्पन्न भएको तर कार्यविधि पारित नभएको अवस्थाले धनीपूर्जा वितरण रोकिएको बताए । सुवेदीले लामो प्रकृयाका सबै काम सम्पन्न भइसकेको भन्दै अब छिट्टै कार्यविधि आउने र सुकुम्बासीले धनीपूर्जा पाउनेमा विश्वस्त हुन आग्रह गरे ।

नेता सुवेदीले धरानको खानेपानीको सम्पत्ति हस्तान्तरण गर्ने काममा कांग्रेसले भाँजो हालेको समेत बताए । खानेपानी योजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा संस्थानले खानेपानी वितरण गर्दै आएको पाइपलाइनमा पानी जोड्न नपाएकोले घर घरमा पुर्याउन नसकेको बताए ।

उनले १७ र १५ नं. वडामा खानेपानी वितरण समेत भइसकेको भन्दै अन्य वडामा संस्थाका हाकिमले अड्काइराखेको आरोप लगाए । धरान–३ स्थित पुरानो सब्जी बजारलाई आधुनिक बनाउन सरकारले डेढ करोड बजेट छुट्याइसकेको भन्दै आधुनिक सब्जी बजार बनाइने बताए ।

त्यस्तै नेपालमा नै पहिलो पटक स्मार्ट बसपार्क धरानमा बनाइने जसमा अण्डरग्राउण्ड सहित बहुतले बसपार्कको हुने सुवेदीको भनाई छ ।