६ बैशाख २०८१, बिहीबार

बलिउडको कला नेपाल भित्र्याउने गजुरेलको चाहना

bollywood 20201213134741

विश्व चलचित्र क्षेत्रमा कहलिएको मुम्बईमा रहेर लामो समय कला निर्देशन र प्रोडक्सन डिजाईनरमा जम्नुभएका नेपाली कलाकार अञ्जन गजुरेल बलिउडको कलालाई नेपाल भित्र्याउन चाहनुहुन्छ ।

केही दिनअघि आफ्नो हिन्दी चलचित्र लुडोको प्रचारका क्रममा यहाँ भेटिनुभएका गजुरेलले बलिउडको आफ्नो सीपलाई नेपाली सिने क्षेत्रमा देखाउन चाहेको बताउनुभयो । सन् १९९८ मा भारतको मुम्बईमा फाइन आर्ट (ललितकला) पढ्न पुग्नुभएका गजुरेलले त्यहाँको जेजे स्कूल आफ आर्टबाट स्नातकोत्तर गर्नुभयो ।

त्यसअघि काठमाडौँको भोटाहिटीमा रहेको ललितकला क्याम्पसमा चित्रकला विषयमा उहाँले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । सन् १९८८ मा धनुषाको लालगढमा जन्मेर स्थानीय विद्यालयमा एसएलसीसम्मको अध्ययन गर्नुभएका उहाँ काठमाडौँ हुँदै मुम्बईमा अध्ययनका लागि पुग्नुभएको हो ।

त्यहाँ अध्ययनपछि बालाजी फिल्मस्मा छिर्नुभएका उहाँले त्यसपछि चलचित्र क्षेत्रबाट बाहिर आउन परेन । चलचित्रका लागि सुटिङ गर्न आवश्यक सम्पूर्ण भौतिक संरचना निर्माण र निर्देशनको दायित्व उहाँले लिँदै आउनु भएको छ । चलचित्रको कथालाई राम्रोसँग पर्दामा उतार्नका लागि तयार गरिने कलात्मक संरचना नै कला हो । जहाँ घरका भवनदेखि भित्री डिजाइनसम्म पर्दछन् ।

त्यसको निर्देशनको जिम्मेवारी कला निर्देशकको कामभित्र पर्दछ । गजुरेल कला निर्देशकसँगै प्रोडक्सन डिजाइनर पनि हुनुहुन्छ । ठूलो पर्दाको चलचित्र लुडो, काबुल एक्सप्रेस, क्यारिअन कुत्तो, वीलयु म्यारी मि, आगाया हिरो र रामभजन जिन्दावादको कला निर्देशन उहाँले गर्नुभएको छ । भर्खरै रिलिज भएको अनुराग वासुको लुडो नेटफ्लिक्समा पनि हेर्न सकिने उहाँले जानकारी दिनुभयो । यसले आफ्नो कला निर्देशनलाई उचाइमा पु¥याएको गजुरेलको जिकिर छ ।

त्यस्तै हलिउडको ओपन वाईड हर्ट र नेपाली चलचित्र कोहिनुरको कला निर्देशन आफूले गरेको गजुरेलको भनाइ छ । उहाँले धेरैले रुचाएका कसौटी जिन्दगिकी, कुटुम, ईर्फान खानको मानो या नमाने, कुछस्तर, तुमसे हरावत जस्ता ३५ भन्दा बढी टिभी सिरियलमा कला निर्देशन गर्नुभएको छ ।

उहाँको ख्यातीसँगै नेपाली वृत्तचित्र रेन्बोमा उहाँलाई समेटिएको छ । बलिउडका चर्चित गीत लुङ्गीडान्स, डेल्लीबेल्ली फिल्मको प्रमोसन गीत, ह्याट यु लाईक लभ यु जस्ता गीतमा उहाँले कला निर्देश गर्नुभएको छ ।

कुनै पनि चलचित्रको कथा तयार भएपछि सुटिङ (छायाङ्कन) का लागि आवश्यक संरचना थ्रिडिमा तयार भएसँगै सोही अनुसारको संरचनाको जिम्मेवारी गजुरेलले लिने गर्नुभएको छ । उहाँले भन्नुभयो, “एउटा चलचित्रमा मेरो मातहतमा दुई सयदेखि तीन सय कर्मचारी मजदूर खट्ने गर्दछन् ।” बलिउडको एउटा चलचित्रले कला निर्देशन क्षेत्रमा मात्रै रु ३० करोडदेखि ५० करोडसम्म खर्च गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

विगतलाई सम्झँदै उहाँले भन्नुभयो, “शुरुवाती क्षणमा मैले दैनिक दुई सय रुपैयाँमा पनि काम गरेँ, पछिल्लो समय एकै सातामा रु आठ लाखसम्म आर्जन गर्न सफल भएको छु ।” आफू चलचित्र क्षेत्रमा छिर्दै गर्दा दैनिक आफूले रु २०० पाउने र आफ्नो मातहतमा काम गर्नेले रु दुई हजार २०० बुझ्दा नरमाइलो लाग्ने गरेको अनुभूति उहाँसँग छ ।

मुम्बई शहरमा आफ्ना तीन वटा फल्याट भए पनि अबको आफ्नो जीवन नेपाली चलचित्रको विकासमा लगाउने गजुरेलको चाहना छ । नेपाली चलचित्र क्षेत्रले बलिउडको कला समेट्न सक्ने हो भने दर्शकको मन जित्न सहज हुने उहाँ बताउनुहुन्छ ।

ललितकला क्याम्पस पढेपछि परिवारले अष्ट्रेलिया जाने भए तीन महिनाको खर्च व्यहोर्न र भारत गए पढुञ्जेलको खर्च व्यहोर्ने सर्तमध्ये आफूले भारत रोजेको भन्दै उहाँले भन्नुभयो, “मैले पढ्दा कति दु्ःख गरेँ, सुनाउन पनि कठिन छ ।” बलिउडमा धेरै नेपाली खारिएका कलाकर्मी रहेको भन्दै उहाँले त्यो जनशक्तिलाई नेपाल फर्काउन सके यहाँको चलचित्र उद्योगले ठूलै फड्को मार्ने उहाँले बताउनुभयो ।

मुम्बईमा रहँदा कला निर्देशनसँगै गजुरेलले वास्तु शास्त्रको पनि अध्ययन गर्नुभएको छ । कलाकै ज्ञानका कारण घर र कार्यालयको भित्री सजावट (इन्टेरियर डिजाइन) मा पनि उहाँको दख्खल छ । विदेशमा सिकेका सीपसँगै नेपाल फर्कने चाहना रहेको उहाँले दोहो¥याउनुभयो ।

    सम्बन्धित समाचार...