१३ बैशाख २०८१, बिहीबार

औद्योगिक ग्रामको निर्माण थालनी

uddhog industries

ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको छ । औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गर्नुभएको थियो ।

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्न लागेको हो । एक सय ३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी छ ।

गत आवमा सङ्घ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित रु ९२ लाख बजेटबाट विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउनेदेखि पूर्वाधार तयारीका कामलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

“पर्खाल, घेराबार र प्रवेशद्वार निर्माणको काम शुरु भएको छ, अर्को वर्षसम्ममा संरचना तयार गरिसकेर औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले चालु आवमा रु ६५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।

गाउँपालिका आफैँले रु ३० लाख बजेट छुट्ट्याएको छ । यो वर्ष जग्गा ‘प्लटिङ’, विद्युत् विस्तार, खानेपानी आपूर्तिलगायत संरचना निर्माणको काम हुने जनाइएको छ । दश वटा उद्योग चलाउने योजनासहित पूर्वाधार तयार गर्न लागिएको अध्यक्ष घर्तीले जनाउनुभयो ।

स्थानीय पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुर्याउने विश्वास लिइएको छ ।

कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोलामा औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् । ताराखोला गाउँपालिकासँगै बागलुङ नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण हुँदैछ । नगरपालिकाको वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरिएको छ ।

गण्डकी प्रदेश सरकारले दुई वर्षअघि नै औद्योगिक ग्रामका लागि जग्गा खोजी गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । अन्य स्थानीय तहले समयमै जग्गा व्यवस्थापन गर्न नसक्दा औद्योगिक ग्रामका लागि छनोटमा पर्न नसकेका हुन् । औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

सङ्घ र प्रदेश सरकार दुवैको नीति र कार्यक्रममा सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उल्लेख छ । स्थानीय तहले जग्गाको जोहो गरेपछि सङ्घ र प्रदेश सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि लगानी गर्ने छन् ।

औद्योगिक ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रर्दशनी, बिक्री र भण्डारण कक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिने छ । निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय र सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइने छ ।

बागलुङसँगै पर्वत, कास्की, स्याङ्जा, लमजुङ, गोरखा र तनहुँमा गरी ११ स्थानमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाइएको छ । यस्तै गण्डकी प्रदेशअन्तर्गत नवलपुरको कावासोती र कास्कीको भोटेपोखरीमा औद्योगिक क्षेत्र निर्माणका लागि सङ्घीय सरकारले अनुमति दिएको छ । औद्यागिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् भने औद्योगिक क्षेत्रमा ठूलो लगानीका उद्योग स्थापना गरिनेछ ।

स्थानीय तहको माग र प्रदेश सरकारको सिफारिसअनुसार मन्त्रिपरिषद्ले औद्योगिक ग्राम खोल्न स्वीकृति दिएको हो । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न औद्योगिक ग्रामको योजना ल्याइएको हो ।

    सम्बन्धित समाचार...