७ बैशाख २०८१, शुक्रबार

तुलसीपुरमा विद्युतीय माध्यमबाट घर नक्सा पास

nagarpalika tulsipur

दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको शुरुआत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकारसम्मेलन गरी आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर नक्सा पास सेवा शुरु गर्न लागिएको जानकारी दिएको हो ।

हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटोछरितो तथा सहज हुने भएकाले यो सेवा शुरु गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । यो सेवाअन्तर्गत भवन निर्माण अनुमति तथा मिसिल÷रेकर्ड विद्युतीयरूपमा अभिलेख राखिने, अनलाइन दर्ता, फाइल कहाँ पुगेको छ, भनी थाहा पाउन सकिने, भवन मापदण्डसम्बन्धी राष्ट्रिय भवनसंहिता जाँच गर्न, नक्सापास बुक, सँधीयार, मुचुल्का, सर्जमीन समावेश, रिपोर्ट हेर्न र प्रमाणपत्र प्रिन्ट गर्न सकिने उहाँले बताउनुभयो ।

त्यस्तै फाइल बोकेर कार्यालय आउनु नपर्ने, पुराना कागजात हराउने समस्याको अन्त्य हुने, राजश्व प्रणालीले हिसाब गर्ने भएकाले पारदर्शी हुने, सबै परामर्शदाता छनोट गर्न सकिने र नक्सापास भएमा घरधनीले मोबाइल एसएमएस प्राप्त गर्ने, सेवाग्राहीले घरमै बसेर कामको अवस्था बुझ्न र गुनासोसमेत गर्न मिल्नेजस्ता सुविधा पाइने प्रमुख पाण्डेको भनाइ छ । यो प्रणालीले सुशासन अभिवृद्धिमा योगदान पुग्ने उहाँले बताउनुभयो ।

यो सेवा शुरु भएपछि गलत तथ्याङ्क हालेर नक्सापास गर्ने प्रवृत्तिको समेत अन्त्य हुने उपमहानगरपालिकाका इञ्जिनीयर अपिल आचार्यले बताउनुभयो । ‘‘अहिले तुलसीपुरमा करिब ४० हजार घर सङ्ख्या भए पनि छ हजार ५६ घरको मात्रै नक्सापास भएको भन्दै अब प्रत्येक घरमा पुगेर सबैलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको छ’’, उहाँले भन्नुभयो । उहाँका अनुसार कच्ची घरको पनि नक्सा पास गर्ने र घर नम्बर दिने गरी तयारी थालिएको छ ।