८ बैशाख २०८१, शनिबार

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन आग्रह

girirajmani pokhrel

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गर्नुभएको छ । मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उहाँले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताउनुभयो ।

झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघीय सरकारको रु १६ लाख र प्रदेश नम्बर १ सरकारको रु छ लाख ५० हजार गरी कूल रु २२ लाख ५० हजारका लागतमा विद्यालय परिसरमा पुस्तकालय भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताउनुभयो ।

यसअघि मन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका नाममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडमा सञ्चालित बहुप्राविधिक शिक्षालयको आज बिहान उद्घाटन गर्नुभएको थियो । बिर्तामोड नगरपालिका–४ मा भवन भाडामा लिएर सञ्चालित शिक्षालयमा कृषि, जीव र वनविज्ञान सम्बन्धी पढाइ हुनेछ ।

शिक्षालयमा १२० जनाले तीनवर्षे डिप्लोमा तहको अध्ययनको अवसर पाउने प्रतिष्ठान झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताउनुभयो । उहाँले शिक्षालयले जग्गा भाडामा लिएको र दुई वर्षभित्र आफ्नै भवनसमेत बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।