८ बैशाख २०८१, शनिबार

तिलोत्तमामा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

tilottama municipality

तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिकसत्रबाट कार्यान्वयनमा आएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गङ्गाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालय छन् ।

पहिलो चरणमा कक्षा १ देखि ५ सम्म १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक सङ्घसंस्थालगायतका विषय समेटिएको छ ।

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकाले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समितिका संयोजक दामोदर भुसालले बताउनुभयो । स्थानीय पाठ्यक्रममा सरसफाइसँग सम्बन्धित ‘मेरो खल्ती ः मेरो पहिलो डष्टविन’ को अवधारणालाई पनि समेटिएको छ । पूर्ण सरसफाइउन्मुख तिलोत्तमा नगरपालिकाले सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नै दिने गरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।

चकलेट, जङ्कफुडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधारणा ‘मेरो खल्ती ः मेरो पहिलो डष्टविन’ को रहेको छ । यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाइमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकामा तिलोत्तमाले त्यसको अभ्यास गरेको हो ।

विद्यालयले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । समितिले विभिन्न चरणमा सरोकारवालासँग छलफल तथा अन्तक्र्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रूप दिएको संयोजक भुसालले बताउनुभयो । पाठ्यक्रम निर्माण समितिका सदस्यमा टङ्कप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्यसचिव शारदा भट्टराई रहनुभएको छ ।

    सम्बन्धित समाचार...