६ बैशाख २०८१, बिहीबार

प्रवेशद्वार विवादले चन्द्रगढी विमानस्थलको गुरुयोजना अलपत्र

chandragadi airport

प्रदेश नं १ को दोस्रो ठूलो चन्द्रगढी विमानस्थलको पुनःनिर्माणसम्बन्धी गुरुयोजना प्रवेशद्वारलार्ई कता राख्ने भनेर स्थानीयवासीले शुरु गरेको अनावश्यक विवादले अलपत्र परेको छ ।

भद्रपुर नगरपालिका वडा नं ८ मा पाँच दशकअघिदेखि रहेको चन्द्रगढी विमानस्थलको टर्मिनल भवनसँगै प्रवेशद्वार अहिले दक्षिणतिर छ । विमानस्थलको एक हजार ५०० मिटर लामो धावनमार्ग पूर्व–पश्चिम फैलिएको छ । पुनःनिर्माण गरी विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डको बनाउन नागरिक उड्डयन प्राधिकरणले अर्बको हाराहारीमा लगानी हुने गरी नयाँ गुरुयोजना हालै बनाएको छ । जसमा टर्मिनल भवन र प्रवेशद्वार धावनमार्गको उत्तरतिर डिजाइन गरिएको छ ।

विमानस्थलको विस्तार र विकासमा सबै पक्षको सहमति भए पनि प्रवेशद्वार उत्तरतिर सर्ने भएपछि धावनमार्ग दक्षिणका बासिन्दाले सङ्घर्ष समिति गठन गरेर ५० वर्षदेखि दक्षिणमा रहेको प्रवेशद्वार कायमै राखिनुपर्ने अडान राखेका छन् ।

विराटनगर र चन्द्रगढी विमानस्थलको गुरुयोजना एकसाथ तयार भएको थियो । विराटनगरमा गुरुयोजना कार्यान्यनको चरणमा प्रवेश गरिसक्दा चन्द्रगढीमा एक वर्षदेखि शुरु भएको विवादले निकास पाउन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा रहेको चन्द्रगढी विमानस्थललाई छिटो विकास तथा विस्तार गर्न चाहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमेत प्रवेशद्वारको अनावश्यक विवादले चिन्तित रहनुभएको छ । उहाँले स्थानीयवासीसँग हालै दुईपटक छलफल गरी समाधान खोज्नुभएको थियो ।

चन्द्रगढी विमानस्थलका प्रमुख मुरारी पौडेलले विवाद जति लम्बिन्छ, विकास त्यति नै पछाडि धकेलिने विषयमा भद्रपुरवासीलाई गम्भीर हुन आग्रह गर्नुभएको छ । “अन्तरराष्ट्रिय विमानस्थलको नयाँस्वरुपमा लैजान ढिलो चाँडो गुरुयोजना लागू नगरी सुखै छैन”, विमानस्थलका प्रमुख पौडेलले रासससँग भन्नुभयो, “राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला स्थानीयवासीसँग बारम्बार छलफल चलाइरहेका छौँ, सहमति नहुँदा विकास अवरुद्ध भइरहेको छ ।”

स्थानीयवासी नै गुरुयोजनाप्रति असहमत हो भने विकास र विस्तार प्रक्रिया अघि नबढ्ने उहाँले बताउनुभयो । गुरुयोजनामा विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गर्ने, धावनमार्ग विस्तार गर्नेलगायतका योजना रहेको उहाँले जानकारी दिनुभयो ।

साविकको दक्षिणी भागमै विमानस्थलको टर्मिनल र प्रवेशद्वार रहनुपर्ने अडान राख्दै स्थानीयवासीले रुद्र चूँडालको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरेका छन् । समितिका अध्यक्ष चूँडालले प्रवेशद्वार उत्तरतिर सार्ने हो भने भद्रपुर र दक्षिण झापावासी ओझेलमा पर्ने जिकिर गर्नुभयो ।

प्रवेशद्वारकै कारण गुरुयोजना अलपत्र पर्ने भएपछि भद्रपुर नगरवासीकै अर्को समूहले हिरा पोखरेलको अध्यक्षतामा विमानस्थल पुनःनिर्माण सहयोग समिति गठन गरेर गुरुयोजनाबमोजिम नै निर्माण कार्य चाँडो शुरु गर्न दबाब दिइरहेको छ ।

सहयोग समितिका अध्यक्ष पोखरेलले प्राविधिक दृष्टिले जहाँ राख्दा उपयुक्त हुन्छ त्यहीबमोजिम विकासको काम शुरु हुनुपर्ने बताउनुभयो । उहाँले धेरै कार्यालय हटाएर सदरमुकामको अस्तित्व समाप्त पार्ने, चालू भवन भत्काएर नयाँ ठाउँमा बनाउने, राज्यलाई अत्यधिक क्षतिपूर्तिको भार बोकाउने जस्ता समस्या आउन नदिन विमानस्थलको विस्तार उत्तरतिर गर्नु उपयुक्त हुने प्राविधिक निष्कर्ष भएको हुँदा त्यही कुरामा आफूहरुको जोड रहेको बताउनुभयो ।

    सम्बन्धित समाचार...