८ बैशाख २०८१, शनिबार

शीतलहरबाट जोगाउन तराईमा विशेष अध्ययन हुने

sitlahar 1

शीतलहरका कारण तराई क्षेत्र वर्षेनी प्रभावित हुने गरेकाले सरकारले यसवर्ष त्यसक्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको छ ।
चिसोका कारण र चिसोबाट बच्न आगो बाल्दा जलेर तथा निसासिएर ज्यान गएका घटना बेलाबेलामा हुँदै आएकाले मानवीय क्षति कम गर्न विशेष प्राथमिकता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसका लागि प्राधिकरणले तराई क्षेत्रमै पुगेर अवस्थाको अध्ययन गर्ने भएको छ । विपद्बाट हुने क्षति रोक्न आवश्यक पूर्वतयारीका कार्यक्रमअन्तर्गत जाडो शुरु हुनुअघि नै स्थलगत अध्ययन र अन्तरक्रियामार्फत सुझाव लिन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार नै टोली त्यसतर्फ जानेछ ।

“प्रदेश २ मा पुगेर सरोकारवालाबीच अन्तरक्रिया गर्ने, अवस्था बुझ्ने, जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी समस्याको बारेमा जानकारी लिन्छौँ र सम्भावित जोखिमबाट क्षति कम गर्न उपाए खोज्छौँ, उहाँले भन्नुभयो, “यसले आगामी दिनमा योजना निर्माणका लागि ठूलो सहयोग हुने अपेक्षा छ ।” अवस्था बुझेपछि सो क्षेत्रमा थम सामग्री चाहिने अवस्था देखिए उपलब्ध गराइने छ ।

मौसमविद् तथा वैज्ञानिकले यसवर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको छ । तर पनि तराई क्षेत्र भने सधैँ नै प्रभावित हुने ठाउँ हो । विशेष गरी प्रदेश नं २ यसबाट नराम्ररी प्रभावित हुने भएकाले सो क्षेत्रमा पुगेर अवस्था बुझने र आवश्यक पूर्व तयारीका काम गर्न लागिएको हो । जाडोबाट विशेष गरी तराई र हिमाली क्षेत्र बढी प्रभावित हुन्छ ।

मौसमी विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढीसकेको जनाएको छ । प्राधिकरणका प्रवक्ता जनार्दन गौमत चिसोबाट कसरी मानवीय क्षति कम गर्न सकिन्छ भनेर विशेष योजनाका साथ काम थालिएको बताउनुहुन्छ । जिल्लामा पत्राचार गरेर आवश्यक तयारीमा जुट्न र क्षति कम गर्ने कार्ययोजनासहित पेश गर्न भनिएको छ ।

उहाँका अनुसार आवश्यक सावधानी र कार्यक्रम लागू गर्दा गत वर्ष भने मानवीय क्षति रोक्न सफल भएको गृहमन्त्रालयको भनाइ छ । चिकित्सकले जाडो मौसममा बालबालिका र वृद्धवृद्धा बढी जोखिम हुने भएकाले विशेष ख्याल गर्नुपर्ने जनाएको छ ।

    सम्बन्धित समाचार...