८ बैशाख २०८१, शनिबार

मंसिर १८ र २३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय आज सार्वजनिक

Cabinet
फाइल फोटो

मंसिर १८ गते र २३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंसिर २४ गते सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज सो निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद निर्णय अनुसार नेपाली सेनाका महासेनानी पुरुषोत्तम ढकाल, प्राविधिक महासेनानी ईश्वरकुमार श्रेष्ठ, प्राविधिक महासेनानी अच्युतप्रसाद अधिकारीको पदावधि थप गरिएको छ । त्यस्तै प्रमुख सेनानी सगुन शमशेर जबरा र सेनानी जयानन्द जोशीलाई अवकाशपूर्व विशेष बढुवा गरिने भएको छ । नेपाली सेनाका महासेनानी सोवितबहादुर अधिकारीलाई सहायक रथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय भएको छ ।

यसका साथै सरकारले स्थानीय तहअन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ । दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहने गरी निर्णय गरेको हो ।

सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा भद्रपुर झापाका डा. विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ ।

बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा प्रेमनारायण कँडेललाई कृषि तथा वन सेवाको सामुहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा र राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन जनालाई सरुवा गर्ने निर्णय गरेको छ ।