१३ बैशाख २०८१, बिहीबार

बाँझो जमिनमा खेती गर्ने कृषकले पाए अनुदान

Bajo Jamin Kheti

पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन सदुपयोग गरी खेती गर्ने नगरभित्रका ९७ जना कृषकलाई अनुदान रकम वितरण गरेको छ ।

चालू आर्थिक वर्षमा नगरका ११ वटै वडामा बाँझो जमिन जोतेर खेती गर्न शुरुआत गरेका कृषकलाई रु १० लाख ५१ हजार अनुदान वितरण गरेको हो । कृषकलाई क्षेत्रफलका आधारमा प्रतिरोपनी रु दुई हजारका दरले अनुदान रकम वितरण गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।

फलेबास नगरपालिकाका ११ वटै वडामा गरी कूल ५ सय २५ दशमलव ५ रोपनी बाँझो जमिनमा यस वर्ष कृषकले खेती गरेका थिए । विगत दुई वर्ष पहिलेदेखि बाँझो रहेको खेतबारीमा खेतीगरी ८५ मेट्रिकटन धान र पाँच मेट्रिकटन कोदो उत्पादनमा वृद्धि भएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । नगरले कृषकमैत्री कार्यक्रम सञ्चालन गरेको र बाँझो जमिनलाई हराभरा बनाइ आयातलाई प्रतिस्थापन गर्ने सोचका साथ अनुदानका कार्यक्रम अगाडि बढाएको नगरप्रमुख शर्माको भनाइ रहेको छ ।

श्रमिक कल्याणकारी कोष, कृषि ऋणमा व्याज अनुदान जस्ता कार्यक्रम सञ्चालन गरिएको पनि उहाँले बताउनुभयो । कोभिड–१९ विश्वव्यापीरुपमा फैलिरहेको अवस्थामा हुनसक्ने सम्भावित खाद्य सङ्कटलाई मध्यनजर गरी फलेबास नगरपालिकाले खाद्य सुरक्षाका लागि बाँझो जमिनमा खाद्यान्न उत्पादनका लागि प्रोत्साहन कार्यक्रम शुरु गरेको थियो ।

नगरको वडा नं १ मा ११ रोपनी, २ मा १३ रोपनी, ३ मा २५० रोपनी, ४ मा ४८ रोपनी, ५ मा ५५ रोपनी, ६ मा ३ रोपनी, ७ मा ३६ रोपनी, ८ मा १७ रोपनी, ९ मा ११.५ रोपनी, १० मा ५० रोपनी र वडा नं ११ मा ३१ रोपनी गरी ५२५.५ रोपनी बाँंझो जमिन सदुपयोग गरी कृषकले धान तथा कोदो रोपेको फलेबासका कृषि शाखाले जनाएको छ ।

फलेबास नगरपालिकाको कार्यालयबाट गरिएको बाली कटानी सर्वेक्षणमा प्रतिहेक्टर २ दशमलव ७ मेट्रिकटनदेखि ४ दशमलव ८ मेट्रिनसम्म उत्पादन भएको पाइएको छ । बाँझो जमिनमा गरिएको खेतीमा अन्यभन्दा १८ प्रतिशतले बढी पाइएको बताइएको छ । सिँचाइको राम्रो सुविधा भएको, उन्नत बीउ, मलजल राम्रो भएको र क्लिन फलेबास ग्रिन फलेबास अभियानअनुसार अनुत्पादक रुख काटछाँट गरेको स्थानमा राम्रो उत्पादन भएको पाइएको कृषि शाखाले जनाएको छ ।

कृषि शाखा फलेबासका अनुसार नगपालिकामा यस वर्ष धान उत्पादन १२ प्रतिशत र उत्पादकत्व ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । गत आव २०७६÷७७ मा कूल १९१३ हेक्टर क्षेत्रफलमा ५४३३ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष क्षेत्रफल एक हजार ९५५ हेक्टरमा छ हजार ९६ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसै फलेबासमा यसवर्ष कोदो एक हजार ७७८ हेक्टरमा दुई हजार ४०० मेट्रिकटन उपादन भएको छ ।