६ बैशाख २०८१, बिहीबार

चितवन जिल्लाका अस्पतालमा १६७ सङ्क्रमितको मृत्यु

corona death

जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा १६७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ९६ जना रहेका छन् ।

जिल्लामा एक केन्द्रीयस्तरको अस्पताल र दुई ठूला मेडिकल कलेजसँगै अन्य निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । कतिपयको होमआइसोलेशनमा रहेको समयमा मृत्यु भएको छ भने कतिपयलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट सङ्क्रमित उपचार गराउन आउने गर्दछन् । उपचारका क्रममा आएका चितवनसहित १४ जिल्लाका र छिमेकी भारतका बिरामीको यहाँ मृत्यु भएको हो । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १५८ वटा शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

शव व्यवस्थापनका क्रममा ७४ जनाको शव गाडिएको छ भने अन्यको जलाइएको छ । गणका अनुसार मृत्यु भएकामा चितवनबाहेक सबैभन्दा बढी (२३ जना) नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) का रहेका छन् । त्यसैगरी मकवानपुरका १८, रौतहट पाँच, सर्लाही चार, तनहुँ तीन, गोरखा छ, कैलाली दुई, रुपन्देही दुई, लमजुङ दुई, बारा, गुल्मी, धादिङ, स्याङ्जा, प्युठान र भारतका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको गणले जनाएको छ ।

जिल्लामा हालसम्म सङ्क्रमित भएका पाँच हजार ९८६ जनामध्ये ९६ जनाको मृत्यु भएको छ भने पाँच हजार ४८७ जना उपचारपछि निको भएका छन् । अहिले ४०२ जना विभिन्न आइसोलेशनमा रहेका छन् । अस्पतालमा उपचार गर्न आएर कोभिड सङ्क्रमण पुष्टि हुनेमा श्वासप्रश्वासमा समस्या, ज्वरो, खोकी, निमोनिया, मिर्गौला, मुटु, दम, झाडापखाला र हेपटाइटिस बि का बिरामीको बढी सङ्ख्यामा मृत्यु भएको पाइएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सङ्क्रमित जटिल भएपछि उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउनुहुन्छ । पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उहाँको भनाइ छ ।

मुटुको जटिल शल्यक्रिया सम्पन्न

सात वर्षीया बालिकाको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा जन्मजात मुटुसम्बन्धी समस्या भएकी तनहुँ घर भई भरतपुर महानगरपालिका–१२ बस्ने सात वर्षीया खुशी थापाको मुटुको शल्यक्रिया सफल भएको हो ।

अस्पतालका प्रा डा श्यामराज रेग्मीको नेतृत्वमा डा सुधिर रेग्मी, डा विष्णुमणि धिताल, सर्जन डा सुरज भट्टराई, रेडियोलोजिष्ट डा विज्ञान पौडेल, एनेस्थेसियोलोजिष्ट डा भारती शर्मा रेग्मी र क्याथ प्रयोगशाला प्रमुख अमृत काफ्लेको सङ्लग्नतामा शल्यक्रिया सम्पन्न भएको हो ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार बालिकाको मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया गरिएको हो । बालिकामा जन्मदैदेखि श्वास फेर्न गाह्रो हुने, बेलाबेलामा लड्ने, अन्य बच्चाभन्दा फरक स्वभाव रहेको थियो । बच्चालाई १७ महिनाको हँुदा काठमाडाँैको शहिद गङ्गालाल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा जन्मजात मुटुसम्बन्धी रोग भएको पुष्टि भएको परिवारलाई उद्धृत गर्दै देवकोटाले जानकारी दिनुभयो ।