१५ चैत्र २०८०, बिहीबार

पुस्तकालयले किशोरीलाई नेतृत्वमा ल्याउँदै

publiclibraries

टीकापुरकी १६ वर्षीया किशोरी निर्मला न्यौपाने पहिले निकै लजाउनुहुन्थ्यो । उहाँ साथीभाइ वा दुई÷चार मानिसको अगाडि खुलेर बोल्न सक्नुहुन्नथ्यो तर एक वर्षयता उहाँको डर हराएको छ । टीकापुर सामुदायिक पुस्तकालयले ‘प्रविधि उमेर समूहका किशोरी’को नेतृत्व र क्षमता विकासका लागि सञ्चालन गरेको कार्यक्रममा सहभागी भएपछि निर्मलाको जीवन फेरिएको छ ।

“ममा भएको क्षमता लुकाएर बसेकी थिएँ, म आफू र आफ्ना साथीमाथि भएको अन्यायबारे पनि बोल्न सक्दिनथेँ”, निर्मलाले भन्नुभयो, “म गत वर्षबाट ‘टेक्नोलोजी एज गर्ल (ट्याग) अर्थात् प्रविधि उमेर समूहका किशोरी’ परियोजनामा आबद्ध भएपछि अहिले सामाजिक सबै गतिविधिमा सहभागी हुन्छु । अन्याय नहसने बानीको विकास भएको छ ।” निर्मलाले आजभोलि सिक्ने मात्र होइन, घरपरिवार, समाज र साथीभाइलाई आफूले जानेका कुरा सिकाउनसमेत थाल्नुभएको छ । “अँध्यारोबाट उज्यालो बाटो देखेजस्तै अनुभव भएको छ । पुस्तकालयमा आबद्ध भएपछि मेरो जीवन बदलिएको छ”, निर्मला भन्नुहुन्छ, “हामी ५१ किशोरी थियौँ, अहिले दोस्रो चरणमा बढी सक्रिय रहेका २७ जना छनोट भएका छौँ । हामी विद्यालयपछिको बाँकी समयमा तालिम लिन्छौँ ।”

पुस्तकालयको यो कार्यक्रममा १४ देखि २२ वर्षसम्मका विद्यालय उमेरका किशोरी सहभागी छन् । त्यस्तै अर्की टेक्नोलोजी एज गर्ल समीक्षा सुनारको पनि बोल्ने बानीको विकाससँगसँगै क्षमता र नेतृत्व विकास भएको छ । “मैले कम्प्युटर देखेकी थिइनँ, यहाँ आएपछि कम्प्युटर चलाउन, सामाजिक सञ्जालको सही सदुपयोग गर्न, पढाइसम्बन्धी आवश्यक सामग्री गुगलमा खोज्न जानेकी छु”, समीक्षाले भन्नुभयो, “अहिलेको युगमा किशोरीलाई प्रविधिको सही सदुपयोग गराउन पुस्तकालयले सिकाइरहेको छ । हामीले सामाजिक सञ्जालको गलत प्रयोग गर्दा गलत बाटोमा लागिरहेका धेरै देखेका छौँ । हामीले यहाँ सही प्रयोगबारे सिक्यौँ ।”

किशोरीहरुले सही सूचना कसरी थाहा पाउने, फुर्सदको समयमा आफूलाई कसरी व्यस्त राख्ने, पढाइमा रुचि कसरी जगाउने खालका सीप सिकेका छन् । कोरोना भाइरस सङ्क्रमणपछिको लकडाउनका समयमा किशोरीले समुदायमा अझ राम्रो काम गरेका छन् ।

किशोरीहरुले लकडाउका समयमा तीनवटा समूह बनाएर समुदायमा काम गरे । कोरोना महामारीको समयमा किशोरीलाई कोभिड–१९ सचेतना समूह, लैङ्गिकतामा आधारित हिंसा सरोकार समूह र शैक्षिक सहायता समूहमा विभाजन गरी समुदाय र किशोरीका समस्या समाधानमा काम गरेको ट्याग किशोरीका निर्देशक आश्मा चौधरीले जानकारी दिनुभयो । “कोरोना महामारीपछि किशोरीहरुको पनि पढाइ चलेन, उनीहरुले पढाइ छैन भन्दै खाली बसेनन्, त्यो समय सदुपयोग गरे”, आश्माले भन्नुभयो, “उनीहरुलाई हामीले भर्चुअल माध्यमबाट समूह विभाजन गरेर समुदायका समस्या न्यूनीकरणमा लगायौँ । उनीहरुले अपेक्षा सङ्कलन गर्ने र त्यसको समाधानको काममा सघाए ।”

आश्माका अनुसार किशोरीले सिकेको प्रविधिले लकडाउनका समयमा उनीहरुलाई अनलाइनमा पढ्न, नयाँ किताब गुगलमा खोजेर पढ्न सहयोग पुगेको छ । “उनीहरु महिलामाथि हुने हिंसा न्यूनीकरणका कार्यमा समेत सक्रिय भएका छन् । समुदायमा हुने हरेकखाले विभेदविरुद्ध आवाज उठाउन थालेका छन्”, उहाँ भन्नुहुन्छ, “किशोरीले अन्य किशोरीलाई गाउँमै जम्मा गरेर आफूले सिकेका कुरा सिकाउने, अन्यायमा परेकालाई न्यायका लागि सशक्त बनाउने काम गरिरहेका छन् ।”

अभिभावक हरि तिमिल्सिनाले पुस्तकालयले घरमा गरिने हरेक कार्यमा सही र गलतको विश्लेषण छोरीले समेत गर्न थालेकामा खुशी लागेको बताउनुभयो । “पहिला छोरीलाई हामीले भनेको, गरेको सबै कुरा सही लाग्थ्यो”, अभिभावक तिमिल्सिना भन्नुहुन्छ, “आजभोलि हामीले गरेका कार्य यो गलत हो, यो सही हो भनेर आफ्नो विचार राख्न थालेकी छिन् ।”

रिड नेपालको सहयोगमा टीकापुरका दुईवटा पुस्तकालय टीकापुर सामुदायिक पुस्तकालय र भानु सामुदायिक पुस्तकालय सत्तीमा ट्याग परियोजना सञ्चालनमा छ । परियोजनामा विभिन्न विद्यालयका ९ देखि १२ कक्षासम्मका किशोरीलाई २१औँ शताब्दीका सूचना प्रविधिका बारेमा विभिन्न किसिमका तालिम दिइन्छ ।

किशोरीको नेतृत्व विकास गर्दै आफ्नो समुदायका समस्या पहिचान गर्न र ती समस्यालाई सम्बोधन गर्नका लागि स्थानीय सरकार र सरोकारवालासँग समन्वय गर्न किशोरी सक्षम बन्दै गएको टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्काले बताउनुभयो । “किशोरीहरु बाल संरक्षण समिति, बाल क्लबमा बसेर काम गर्न थालेका छन्”, उहाँ भन्नुहुन्छ, “समुदायका सबै गतिविधिमा चासो राख्ने र नेतृत्व लिने बानीको विकास भएको छ । उनीहरु स्थानीय तहमा आफ्ना लागि योजना माग्न सक्षम भएका छन् ।”