७ बैशाख २०८१, शुक्रबार

हिंसापीडितको साहसका लागि सम्मान र सहयोग

women

हिंसापीडितहरूको साहस र हिम्मतको सम्मानमा सोमबार राजविराजमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका–२ की विजयादेवी यादवलाई सम्मान गरिएको हो । उहाँहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको छ ।

मुस्किल परिस्थितिमा पनि डटेर सामना गर्दै आफ्नै न्यायका लागि लगातार सङ्घर्ष गरिरहनुभएकी यादव र मृत्युवरण गर्न बाध्य बनाइएकी सङ्गीता मण्डलका आरोपितलाई कारवाही गर्न देखाएको साहसका लागि उहाँकी आमा रधियादेवीलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । हिंसापीडितलाई हौसला प्रदान गर्ने कार्यक्रमबमोजिम दहेजमुक्त मिथिला नेपालका अध्यक्ष करुणा झाले मण्डल र यादवलाई सम्मान गर्नुभयो ।

आँट, भरोसा र आशा दिनेभन्दा धम्क्याउने बढी भएकाले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मानले हौसला बढेको उहाँहरूले बताउनुभयो । इन्सेक, दहेजमुक्त मिथिला, मैथिली साहित्य परिषद्, राजविराज जेसीज, नगर बाल सञ्जाललगायतको मूल समारोह समितिको आयोजनामा राजविराजस्थित शहीद दशनचोकमा आयोजित कार्यक्रममा मण्डल र यादव सम्मानित हुनुभएको हो ।

गत भदौ २९ गते सामूहिक बलात्कारबाट पीडित १७ वर्षीया सङ्गीता मण्डलको अस्मिताको मूल्य तोक्दै पञ्चहरूले आरोपितलाई कारवाही गर्न रोकेपछि भदौ ३० गते आत्महत्या गर्नुभएको थियो । मृतक सङ्गीताकी आमा रधियादेवीले न्याय दिलाउनुको साटो अस्मिताको मूल्य पञ्चहरूले तोकेर अपमान गरेकाले नै उनले पासो लगाएर मृत्यु रोजेको दुखेसो गर्नुभयो ।

यसैगरी वर्षौँदेखि घरेलु हिंसाबाट प्रताडित विजयादेवी यादवले न्याय पाउने आशामा सङ्घर्षबाट नथाकेको बताउनुभयो । उहाँका पति सशस्त्र प्रहरी निरीक्षक रामचरण यादवले परित्याग गरी छोराछोरीलाई समेत भेटघाट गर्न नदिएको गुनासो गर्दै यादवले विभिन्न सरकारी निकायमा पटक–पटक उजुरी दिएर धाए पनि न्याय नपाएको बताउनुभयो । अब आइन्दा कुटपिट नगर्ने भनी जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित सहमति गरे पनि शारीरिक र मानसिक यातना भोग्दै आएको बताउनुभएकी यादवले आम्दानीको स्रोत नभएको र सहमतिबमोजिम पठाउनुपर्ने रकम लकडाउनको मौका छोपी आठ महिनादेखि श्रीमान्ले नपठाएको बताउनुभयो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले संसार कोरोनासँग लडिरहे पनि गाउँ समाजसँग निरन्तर सङ्घर्ष गरिरहनुभएका पीडितहरूको खोजी गरी हौसला प्रदानका साथै जीविकोपार्जनका लागि व्यवस्था गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा सहप्राध्यापक अशोककुमार झा, मैथिली महिला परिषद्का पूर्वअध्यक्ष सुमित्रा दास, राजविराज जेसीजका अध्यक्ष पुनम पोखरेल, नगर बाल सञ्जालका अध्यक्ष अनिषा ठाकुरले पीडितहरूलाई हिंसाका विरुद्ध आवाज उठाउन र एक्लो महसुस नगर्न आग्रह गर्नुभयो ।

    सम्बन्धित समाचार...