१३ बैशाख २०८१, बिहीबार

तीन वर्षको प्रयासपछि भरतपुरमा सभागृह निर्माण शुरु

Bharatpur mahanagar

भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो ।

महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु गरिएको थियो । तत्कालीन समयमा सभागृह निर्माण गर्न शहरी विकास मन्त्रालयले रु ५५ करोड रकम विनियोजन गरेको भए पनि जग्गाको अभावमा सभागृह बन्न सकेको थिएन । नगर प्रमुख रेनु दाहालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गा सबै प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पुगेसँगै विवाद भएपछि फिर्ता भएको थियो । त्यसपश्चात् पुनः छलफल अघि बढाएर जिल्ला समन्वय समिति मातहत रहेको चार बिघा चार कट्ठा जग्गा भरतपुर महानगरपालिकाको नाममा ल्याएर सभागृह निर्माणको प्रक्रिया अघि बढाइएको हो । दुवै ठाउँको जग्गा खोजी र आवश्यक प्रक्रिया पूरा गर्न तीन वर्षभन्दा बढी समय लागेको दाहाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो निरन्तर प्रयास आज सफल भएको छ ।”

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गाका लागि अस्पताल सञ्चालक समिति, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, भूमि सुधार मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, गृहमन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुर्याउँदा लामो समय लागेको थियो । क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्न जग्गा अभाव हुने भन्दै अन्यत्र खोज्न सुझाएपछि जिल्ला समन्वय समितिको जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको हो ।

यससँगै बजेटको सुनिश्चिता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रियालगायतका सम्पूर्ण प्रक्रिया पुर्याएर निर्माणको कामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता भएको हो । दाहालका अनुसार औपचारिक शिलान्यास कार्यक्रमपछि गर्ने गरी काम शुरु गर्न भनिएको छ । शीर्ष नेता र सम्बन्धित मन्त्रालयका मन्त्रीलगायतको समय व्यवस्थापन गरेर पछि शिलान्यास गर्ने गरी काम अघि बढ्ने उहाँको भनाइ छ ।

दाहालले भन्नुभयो, “महानगरको स्वामित्वमा रहने गरी निर्माण गरिने सभागृहले यहाँको गरिमा बढाउने छ ।” राजनीतिक दललगायत सबैको साथ र सहयोगका कारण परियोजना शुरु भएको उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो, “शुरुआतीदेखि नै आफ्नो गृह जिल्लासमेत रहेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस परियोजना सम्पन्न गर्न पहल गर्नुभयो । उहाँकै पहलका कारण सभागृह निर्माणको काम शुरु भयो ।”

सभागृह निर्माणका लागि इण्डो सगुन रौताहा जेभी रुपन्देही र शहरी विकास डिभिजन चितवनबीच सम्झौता भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास रोडसँगै जिल्ला समवन्य समितिको स्वमित्वमा रहेको जग्गामा सभागृह निर्माण हुनेछ ।

बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँको भनाइ छ । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगँैचा , २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरको आकर्षक सभा बन्ने अर्याल बताउनुहुन्छ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सभागृह देशकै नमूना हुने अर्यालले जानकारी दिनुभयो । हालसम्म यति सुविधासम्पन्न र सुन्दर सभागृह नेपालमा नरहेको उहाँले जिकिर गर्नुभयो । ठेकेदार कम्पनीले १५ दिनभित्र काम थाल्ने गरी सम्झौता गरिएको छ । उहाँले भन्नुभयो, “अब काम शुरु भयो ।”

ठेकेदार कम्पनीका तर्फबाट आयोजना व्यवस्थापक नहकुल खड्काले सरसफाइको काम तत्काल हुने भन्दै अन्य काम पुस लागेपछि शुरु गरिने बताउनुभयो । अबको २७ महिनाभित्रमा काम सम्पन्न गर्नुपर्ने हुन्छ । खड्काका अनुसार समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाइने छ ।

सभागृह बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिने छ । यो सभागृह निर्माणपछि मध्य नेपालमा पर्ने चितवनमा अधिकांश सङ्घ सङ्गठन, दलले कार्यक्रम आयोजना गर्ने इच्छा भएर पनि ठूलो हलको अभावमा राजधानी केन्द्रित हुनुपर्ने बाध्यता हट्ने छ ।