१३ बैशाख २०८१, बिहीबार

दुई वर्षमा हुलाकी राजमार्ग सञ्चालनमा आउने

hulaki sadak

सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

हुलाकी सडकको कामबारे आइतबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिनुभएको छ । प्रमुख पाण्डेले करिब ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पुलको काम सम्पन्न गर्ने र दुई वर्षभित्रमा सडकको काम सम्पन्न गरिने प्रमुख पाण्डले जानकारी गराउनुभयो । उहाँले मन्त्री घिमिरेलाई झापाका आठ वटा पुल र मोरङको रतुवामाईमा रहेको पुलका लागि बोलपत्र आह्वानको काम भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गेली र विराटनगरमा सडकमा केही समस्या छ ।” रङ्गेलीको केही स्थानमा निर्माणको डिजाइनअनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको प्रमुख पाण्डेको भनाइ छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विराटनगरमा छ किलोमिटर सडकमा समस्या भएकाले बोलपत्रको काम हुन सकेको छैन ।

सामाजिक विकासमन्त्री घिमिरेले आगामी दुई वर्षभित्रमा राजमार्ग सञ्चालन गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले सडक निर्माणमा भएका समस्याबारे प्रदेश सरकारले पनि पहल गर्ने भन्दै हुलाकी सडकको चर्चा धेरै भए पनि काम नदेखिएको मन्त्री घिमिरेले चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ र सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । प्रमुख ज्ञवालीले चालु आर्थिक वर्षभित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताउनुभयो ।

पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पूरा हुन नसकेको उहाँले बताउनुभयो । सडक निर्माण भए पनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलको निर्माण भइरहेको मन्त्री घिमिरेसमक्ष जानकारी गराउनुभएको थियो ।

महेन्द्र राजमार्गपछिको दोस्रो महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग निर्माणका लागि दक्षिणी क्षेत्रका जनताले वर्षौंदेखि आवाज उठाइरहेका छन् । यो मार्ग निर्माण भएपछि महेन्द्र राजमार्गको भारमा कमी आउने र दक्षिणी क्षेत्रका जनताको जीवनस्तरमा पनि परिवर्तन आउने सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो । उहाँले यो मार्ग तराईको दक्षिणी क्षेत्रको जनताको उन्नतिको लागि महत्वपूर्ण मानिएको र यसको निर्माणसँगै बसाइँसराइमा पनि कमी आउने धारणा राख्नुभयो ।

    सम्बन्धित समाचार...