८ बैशाख २०८१, शनिबार

भुटान उड्नुपर्ने खेलाडी नाइट क्लबमा भेटिएपछि, एन्फाले राष्ट्रिय टिमबाटै हटायो

download 4

विश्वकप छनोट खेल्न शनिबार भुटान उड्नुपर्ने खेलाडी सामान लिन घर जाने बहानामा शुक्रबार रातभर ठमेलमा बरालिएपछि निलम्बनमा परेका छन् ।

विश्वकप छनोट टिमका स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरको हो ।

एन्फा प्रवक्ता किरण राईले शुक्रबार अबेर रातिसम्म ठमेलका विभिन्न क्लब चहारेको बलियो सूचना आएपछि तत्काल निलम्बन गरिएको बताए । ‘हामीले खेलाडीको सेवा–सुविधादेखि फुटबल विकासका लागि सक्दो प्रयास गरिरहेका छौँ, तर खेलाडी भने क्लोज क्याम्प छाडेर नाइट क्लबमा पुग्नु दुःखद छ,’ राईले भने ।

ठमेलमा उनीहरू रातभर मदिरामा लठ्ठिएर डिस्कोमा झुमेको मात्रै होइन, मोटरसाइकल दुर्घटनामा परेको पनि एन्फा स्रोतले बतायो । ‘खेलाडीहरू मदिरामा लठ्ठिएर रातभर डिस्कोमा मस्ती मात्रै गरेनन्, उनीहरू चढेको मोटरसाइकलसमेत दुर्घटनामा परेको छ, खुट्टामा चोट लागेको छ,’ एन्फा स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘लर्खरिँदै राति २ बजेतिर एन्फा कम्प्लेक्स आइपुगेका थिए । क्षमा दिनै नसकिने अवस्था भएपछि एन्फाले कारबाही गरेको हो ।’ विश्वकप छनोट खेलका लागि राष्ट्रिय टिम म्यानेजर मधुसुदन उपाध्यायले भने आफूले घटनाबारे विहान मात्रै थाहा पाएको बताए ।

शुक्रबार उनीहरू सागको क्लोज क्याम्पमा थिए । शनिबार भुटान जाने तयारीका लागि लगेज मिलाउनुपर्ने भन्दै साँझ त्यहाँबाट निस्किएको सागका टिम म्यानेजर अरुणमान जोशीले बताए । ‘हाम्रो टिम सांग्रीला ब्लु होटल कुपन्डोलमा बसेको थियो । हामीसँग भएका राष्ट्रिय टिमका सबै सदस्य लगेज मिलाउनुपर्ने भन्दै छुटी मागेर साँझ ७ बजेतिर यहाँबाट गएका हुन्,’ जोशीले भने, ‘त्यसपछि उनीहरू कता गए मलाई थाहा भएन ।’

सागको क्लोज क्याम्पबाट निस्किएपछि चार खेलाडी ठमेल गएका थिए । उनीहरू यसअघि पनि राति–राति डिस्को जाने गरेको एन्फा स्रोतले बतायो । ‘उनीहरू पहिले पनि त्यसरी जाने गरेको सूचना छ,’ स्रोतले भन्यो । नयाँ पत्रिकामा खबर छ ।