२७ श्रावण २०७९, शुक्रबार

घरायसी कामले छोरीको बिग्रियो पढाइ

students

टीकापुर नगरपालिका–१ एकतानगरकी पुष्पा सन्न्यासी कक्षा ६ मा अध्ययनरत छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घर सफा गर्ने, भाँडा कुँडा माझ्ने र कपडा धुने लगायत घरायसी काममा आमालाई सघाउँछिन् । यसले उनको पढाइमा असर पु¥याएको छ । “म घरमा आमालाई सबै काम सघाउँछु, मेरा दाजुभाइले मैलेजस्तो घरको काम गर्दैनन्”, पुष्पाले भन्नुभयो, “आमाको धेरै काम हुन्छ । घरको काम सकेर राति आफ्नो गृहकार्य गर्छु । कहिलेकाहीँ गर्न भ्याउँदिन ।”

कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना विकलाई विद्यालयपछिको समयमा घरको काममा खट्नुपर्छ । उनी आमासँगै घाँसदाउराको काममा समेत जान्छिन् । उनका दाजुभाइले पनि घरको काम गर्नुपर्दैन । “म आमासँगै सबै काम गर्छु । खाना पकाउन, घर सफा गर्न, घाँस काट्न सबै काम सिकिसकेँ”, सम्झनाले भन्नुभयो, “छोरीले काम सिक्नुपर्छ, नत्र पछि दुःख पाइन्छ भन्छन्, घरको काम गर्दा घरमा त्यति पढ्न पाइँदैन ।”

त्यस्तै कक्षा ८ मा अध्ययनरत छात्रा सुधा धामीका दुई दाजुभाइ छन् । उनका दाजुभाइले घरको काम पटक्कै छुनु पर्दैन । उनीहरु विद्यालयबाट फर्केपछि कि गृहकार्य गर्छन्, नभए नजिकै रहेको खेल मैदानमा खेल्न जान्छन् । उनी विद्यालयबाट फर्कँदा घरमा काम थुप्रिसकेको हुन्छ । “म विद्यालयबाट फर्कन्छु, खाजा खाएर घाँस काट्न जान्छु, अनि साँझ खाना पकाउने जिम्मा मेरो हुन्छ”, सम्झनाले भन्नुभयो, “आमाले गाईभैँसी स्याहार गर्नुहुन्छ । दाजुभाइलाई काम गर पनि भन्नुहुन्न । म अधिकांश दिन गृहकार्य नगरेरै विद्यालय जान्छु । कहिलेकाहीँ त जानै मन लाग्दैन ।”

समाजमा अहिले पनि छोरी विवाहपछि अर्काको घर जाने भएकाले उनको कमाइ अरुले खान्छ भन्ने गलत बुझाइले शिक्षामा विभेद गरिन्छ । कानूनले शिक्षामा समान हकको व्यवस्था गरे पनि अभिभावकले नबुिझदिँदा छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेको छ । छोरीहरुलाई घरको काममा छोराभन्दा बढी लगाइँदा उनीहरुको पढाइमा समेत असर परेको छ ।

अभिभावक लीलावती चौधरी तुलनात्मकरुपमा घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिने बताउनुहुन्छ । “छोरी पराइ घर जाने हो भन्दै छोरीले सबै कुरा माईतिमै सिक्नुपर्छ, अन्यथा दुःख पाइन्छ भन्ने सोचाइ हाम्रो समाजमा अझै छ”, उहाँ भन्नुहुन्छ, “यसले छोरीको पढाइमा बाधा पु¥याएको हुन्छ ।”

छोराले नै लालनपालन गर्ने विश्वास गरिन्छ । यसैले तिनलाई अलि महँगो निजी विद्यालयमा र छोरीलाई अर्काको घर जाने हो भन्दै कम खर्च हुने सामुदायिक विद्यालयमा पढाउने अभिभावक गाउँघरमा अझै छन् । अभिभावक प्रमिला चौधरी छोरा पढाएमा लालनपालन गर्ने भएकाले उनमा गरिएको लगानी खेर नजाने बताउनुहुन्छ ।

टीकापुर नगरपालिकामा शैक्षिकसत्र २०७६ ÷०७७ मा विद्यार्थीको सङ्ख्या २६ हजार ७९१ छ । ती मध्ये छात्र १४ हजार ४७५ र छात्रा १२ हजार ३१६ छन् । सामुदायिक विद्यालयमा मात्र छात्र चार हजार ५८७ छन् भने छात्राको सङ्ख्या छ हजार ७०० छ ।

संस्थागत विद्यालयमा भने छात्रको सङ्ख्या धेरै छ । छात्रा छ हजार ३०९ र छात्रको सङ्ख्या नौ हजार ८८८ छ । सामुदायिकमा छात्रा सङ्ख्या ५९ प्रतिशत छ भने संस्थागतमा ३८ प्रतिशत मात्र छ । यसले पनि सामुदायिकमा छात्राको सङ्ख्या धेरै र निजीमा कम रहेको देखिन्छ ।

सामुदायिकमा छात्रको तुलनामा छात्राले विद्यालय छाड्नेनेदर दुई प्रतिशतले बढी रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । “विद्यालय छोड्ने दर हेर्दा छात्रभन्दा दुई प्रतिशत बढी छात्राले विद्यालय छोडेको देखिन्छ”, शिक्षा अधिकृत नरेश अवस्थीले भन्नुभयो, “हामी घरकै कामले छोड्छन् भन्न सक्दैनौँ, माथिल्ला कक्षामा गएर विद्यालय छोड्ने छात्रा बढी छन् । घरको कामको बोझ पनि एउटा कारण हो ।”

बाबुआमाले समानरुपमा घरमा व्यवहार गर्ने हो भने छोरीको पढाइमा थप टेवा पुग्ने उहाँको बुझाइ छ ।