Close Me
१३ माघ २०८१, आईतवार

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले कीर्तिपुर मैदानमा बालबालिकासँग क्रिकेट खेल्ने

sachin222

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ)का सद्भावना दूतसमेत रहेका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् ।

शुक्रबार राति काठमाडौं आइपुगेका सचिनले बालबालिकाहरुको एउटा टीमको नेतृत्व गर्नेछन् भने अर्को टीमको नेतृत्व नेपाली क्रिकेटर विनोद दासले गर्ने कार्यक्रम छ ।

बाल अधिकारको प्रवद्र्धनका लागि कीर्तिपुरमा बालवालिकासँग १० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको वाल अधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा नोभेम्बर १५ को दिन पारेर युनिसेफका सदभावना दूत तेन्दुलकर नेपाल आइपुगेका हुन् ।

हरेक वालवालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

नेपाल एयरलाइन्सको नियमित उडानबाट शुक्रबार राति ११ बजे काठमाडौं विमानस्थलमा ओर्लिएका तेन्दुलकरले आफू ‘नेपाल आउँदा निकै खुसी लागेको छ।’, विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले भने। तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन्। उनी शनिबार नै स्वदेश फर्कंदै छन्।

तेन्दुलकर अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान राख्न सफल भारतका चर्चित क्रिकेटर हुन् ।

    सम्बन्धित समाचार...