७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा एक हजार ४९० जना सङ्क्रमित, सक्रिय सङ्क्रमित घटे

corona insurance

देशभरमा आज मङ्गलबारभन्दा ७७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४९० जना सङ्क्रमित हुँदा एक हजार ५६७ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ९२५ र महिला ५६५ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज सङ्क्रमणमुक्त भएका एक हजार ५६७ समेत गरी आजसम्म दुई लाख १८ हजार १६१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ५४७ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ३६ हजार २४६ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज ७२३ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा ५३१, ललितपुर ६१ र भक्तपुर ५८ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये ३९८ पुरुष र ३२५ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा छ हजार ६५०, ललितपुरमा एक हजार ४०४ र भक्तपुरका ५७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३०० नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ५४ हजार ६३० नमूना परीक्षण भइसकेको छ । प्रति दश लाख जनसङ्ख्यामा ६० हजार १२९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ७४१ होम आइसोलेसन र पाँच हजार ८०६ संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ६२९, प्रदेश २ मा २९८, वाग्मती प्रदेशमा छ हजार ७८८, गण्डकी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ६२४, कर्णाली प्रदेशमा १०८ र सुदूरपश्चिम प्रदेशमा ५४५ रहेको छ ।

देशभरमा गरी आज ३६५ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ३२, प्रदेश २ मा सात, वाग्मती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा नौ र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् । त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेश १२ र लुम्बिनी प्रदेश तीन र सुदूरपश्चिम दुई गरी जम्मा ६४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

आइतबारदेखि बुधबारसम्ममा गरी ३४ हजार ८०२ नमूना परीक्षण भएको छ । यो अवधिमा पाँच हजार ५२३ सङ्क्रमित भए भने छ हजार ९७५ सङ्क्रमणमुक्त भएका थिए । यो अवधिमा नै ८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले बढी भीड हुने किसिमका सेवा तथा कार्य अझै १५ दिनका लागि रोकिने बताउनुभयो । उहाँका अनुसार, सिनेमा घर, रात्री व्यवसाय, अरू भीडभाड हुने स्थान, सभा, सम्मेलन, जुलुस लगायतलाई रोकिँदै आएकामा निरन्तरता दिन लागिएको हो । विश्वका कतिपय देशहरुले कोरोना विरुद्धको खोप विकास गरिरहेको भए पनि अझैसम्म व्यावसायिक रुपमा उत्पादन हुन बाँकी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि हामीले स्वास्थ्य मापदण्डको पालना गर्नु नै सङ्क्रमणबाट बच्ने उपाय हो ।”

पाँच जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुई जिल्लामा शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये पाँच जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, ललितपुर, काठमाडौँ, भक्तपुर र कास्की रहेका छन् ।

थप नौ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप नौ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५३८ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत हो । यो सङ्ख्या प्रतिदश लाख पोजिटिभमा ५२ दशमलव सात हो ।