१३ बैशाख २०८१, बिहीबार

विकासका काममा काङ्ग्रेस सधैँ जनताका साथमा छ : वरिष्ठ नेता पौडेल

Ramchandra Paudel

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुन लागेको सभागृहको आज शिलान्यास गर्नुभएको छ । तनहुँ जलविद्युत् आयोजना र ऋषिङ गाउँपालिकाको लगानीमा निर्माण हुन लागेको सभागृहको वरिष्ठ नेता पौडेलले शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले विकासका काममा काङ्ग्रेस सँधै जनताको साथमा रहेको विकासनिर्माणका काममा राजनीतिक विभेद गर्न नहुनेमा जोड दिनुभयो । नेता पौडेलले संविधानको मर्मअनुसार चल्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री शिवलाल थापा मगरले विकासनिर्माणमा राजनीतिक प्रतिशोध गर्न नहुने बताउँदै समयमै सभागृह निर्माण हुनुपर्नेमा जोड दिनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासनिर्माणको कामले गति लिएको बताउनुभयो । काङ्ग्रेस तनहँुका कार्यवाहक सभापति जीतप्रकाश आलेले सभागृह निर्माणपछि ऋषिङलाई मात्रै नभई दमौलीलाई पनि फाइदा पुग्ने बताउनुभयो ।

करीब रु दुई करोड लागत अनुमान गरिएको सभागृह निर्माणका लागि तनहुँ जलविद्युत् आयोजनाले रु ६० लाख सहयोग गरेको छ । ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले आवश्यक रकम गाउँपालिकाबाट विनियोजन हुने जानकारी दिनुभयो । एक हजार पाँच सय क्षमताको सभागृह दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।