८ बैशाख २०८१, शनिबार

आर्थिक क्रियाकलापलाई बढावा दिन सहमत

Nepal rastra Bank new

दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नर/प्रबन्ध निर्देशक कोरोनाले पारेको प्रभावसँग जुध्दै आर्थिक क्रियाकलाप संयुक्त प्रयासबाट अगाडि बढाउन सहमत भएका छन् ।

श्रव्यदृश्यका माध्यमबाट आज आयोजना गरिएको दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नर/प्रबन्ध निर्देशकको ५६ औँ उच्चस्तरीय सेमिनार तथा ४० बैठकमा ती देशका केन्द्रीय बैंकका गभर्नरले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सोको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल गरी साझा धारणा तय गरेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी हुनुभयो । अथोरिटी मनिटरी ब्रुनाई दारेसलामका प्रबन्ध निर्देशक याङ मुलिया डायान हजाह रोसिखस बिन्ती हाजी वदरको अध्यक्षतामा उक्त बैठक आयोजना गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्षका लागि प्रस्तुत गरिएको नीतिगत प्रस्तावमाथिको छलफलमा सहभागी हुनुभयो । बैठकमा कोभिडको असर कायमै रहँदासम्म यस्ता सभा, बैठक, सम्मेलन, तालीम, गोष्ठी भर्चुअल माध्यममार्फत नै निरन्तरता दिनुपर्नेमा सदस्यबीच मतैक्य रहेको छ ।

बैठकमा नेपाल राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशक, गभर्नरको कार्यालयका डा नेफिल मातङ्गी मास्के, आर्थिक अनुसन्धान विभागका डा गुणाकर भट्ट, जनशक्ति व्यवस्थापन विभागका रामु पौडेल तथा गभर्नरको कार्यालयका कामु निर्देशक नारायणप्रसाद पोखरेललगायत सहभागिता रहेको केन्द्रीय बैंकले जनाएको छ ।