१५ चैत्र २०८०, बिहीबार

बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन

khadananda poudel death

विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।

कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले २०१५ सालको निर्वाचनमा बिपीसँगै गीत गाउनुभएको थियो । उहाँले भन्नुभयो, “इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ काँग्रेसै बनन’ भन्ने गीत गाउँदै चर्चामा आउनुभएको थियो ।”

विसं १९८५ वैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिनुभएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गर्नुभएको थियो । उहाँले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी १० महिना कारागार जीवन बिताउनुभएको थियो । विसं २०३६ को जनमतसङ्ग्रहमा रत्ननगरका पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा कांग्रेस र संयुक्त जनमोर्चाका रत्ननगर संयोजक र २०४४ देखि २०५६ सालसम्म कांग्रेस रत्ननगरका सभापति हुनुभएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्ना पिताको चुनावमा समेत खटिनुभएका पौडेलको पार्थिव शरीरमा बिपी पुत्र एवं काग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । पौडेलका हाल तीन छोरा र दुई छोरी हुनुहुन्छ । महामन्त्री कोइरालाले आजै रत्ननगरमा दिवङ्गत हुनुभएका कांग्रेस नेता कृष्णप्रसाद पौडेलको पार्थिव शरीरमा घरमै पुगेर पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । विसं १९९३ फागुन १० गते बाग्लुङको अमलाचौरमा जन्मिनुभएका पौडेलले २००७ देखि २०१७ सालसम्म पटकपटक कारागार जीवन बिताउनुभएको थियो । विसं २०४६ को जनआन्दोलनमा उहाँको टाउकामा गोली लागेको कांग्रेस चितवनले जनाएको छ । उहाँका दुई छोरा र चार छोरी हुनुहुन्छ । दुवैको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ ।

    सम्बन्धित समाचार...