४ बैशाख २०८१, मंगलवार

आधारभूत अस्पताल शिलान्यास : स्वास्थ्य क्षेत्रमा ठूलो फड्को

ghgfh 1536x1153 1

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

आज एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव बसन्त अधिकारीले अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको शिलान्यास भएका जानकारी दिनुभयो । सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेको उहाँले बताउनुभयो । आज शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालु आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ ।

सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न रु आठ करोड, १० श्ययाको अस्पतालका लागि रु ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ ।

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन रु ६४ अर्ब नौ करोड पठाइएको छ । पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि रु ८५ लाख र १५ श्ययाका लागि रु एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् ।

‘गणतन्त्र कसैले चन्दा दिएको होइन’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

हृदयेश त्रिपाठीले नागार्जुन नगरपालिका–७ स्थित बतासेपाखामा निर्माण हुन लागेको १५ श्ययाको रामकोट आधारभूत अस्पतालको आज शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा आजको अभियानले ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । अस्पताल निर्माण सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उहाँले सबै स्थानीय तहले तोकिएको समयमै सफलतापूर्वक अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नआक्न आग्रह गर्दै उहाँले यसको विकल्प खोज्नु नेपाललाई पछाडि फर्काउने दुस्प्रयत्न भएको टिप्पणी गर्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै चन्दा, पुरस्कारमा स्थापना भएको होइन, यो दानदाताव्यबाट आएको पनि होइन, यसका लागि असङ्ख्य नागरिकले बलिदान दिएका छन्, हजारौँ घाइते भएका छन्, सङ्घीय लोकतान्त्रिक प्रणाली कमजोर नठाने हुन्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अभ्यासद्वारा परिपूर्ण गर्दै यसलाई सम्पूर्ण बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । “हाम्रा धेरै पिँढीहरु प्रयोगमै गए, हाम्रै राजनीति जीवन प्रयोगमै बित्यो, हाम्रै जीवनकालमा धेरै परिवर्तन देखियो”, मन्त्री त्रिपाठीले भन्नुभयो, “पञ्चायतकालबाट बहुदलीय संसदीय व्यवस्थामा आयौँ, संवैधानिक राजतन्त्र स्वीकार ग¥यौँ, त्यहाँ पनि धोखा भयो, त्यसपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ, यसको विकल्प खोज्नु अहिले समयको प्रतिकूल जानु हो, नेपाललाई पछाडि फर्काउने दुस्प्रयत्न हो ।”

गणतन्त्रको रक्षाका लागि सम्पूर्ण राजनीतिक दल, आम जनतालाई आह्वान गर्दै उहाँले कुनै घटना विशेषबाट धेरै तरङ्गित नहुन आग्रह गर्नुभयो । “राजनीतिक दलमा विचार, शैलीका विवाद भइरहन्छन्, राजनीतिक दलको नेतृत्वसँग असन्तुष्टि होला, तर जति परिवर्तन भएका छन् ती सबै राजनीतिक दलको अगुवाइमा भएका हुन्”, उहाँले भन्नुभयो ।

जनप्रतिनिधि जनताको सेवक हुनुपर्नेमा जोड दिँदै जनप्रतिनिधिमा भएको शासकीय मनोविज्ञान त्याग्न आग्रह गर्नुभयो । “जुन दिनदेखि जनप्रतिनिधिमा शासकीय मनोवृत्ति देखिन्छ, त्यसै दिनदेखि पतन शुरु हुन्छ । हामी जनप्रतिनिधि पाँच÷पाँच वर्षमा जनतासँग अनुमोदित हुन जानुपर्छ । जसमा शासकीय मनोविज्ञान आउँछ, त्यसलाई कसैले पनि जोगाउन सक्दैन । यो स्थानीयदेखि केन्द्रसम्म सबैलाई लागू हुन्छ”, उहाँले भन्नुभयो ।

सामाजिक सञ्जलमा देखिएको असन्तुष्टिलाई प्रेरणाको स्रोतका रुपमा लिनुपर्नेमा जोड दिँदै उहाँले सत्ता सञ्चालनका क्रममा हुन गएका कमीकमजोरीलाई सबैले स्वीकार गरेर सच्याउनुपर्ने बताउनुभयो । “सामाजिक सञ्जालमा देखिएका असन्तुष्टिको प्रतिवाद गर्नेभन्दा पनि त्यसले औँल्याएका त्रुटी तथा कमजोरीलाई सच्याउने गरी अगाडि बढ्नुपर्छ”, मन्त्री त्रिपाठीले भन्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य केशव पोखरेलले निर्माणाधीन अस्पताल नगरको गौरवको आयोजना भएको र समयमै निर्माण सम्पन्न गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अब बन्ने अस्पताललाई आधारभूत अस्पतालका रुपमा मात्र सीमित नराखी अन्य क्षेत्रका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी काम गर्न सुझाव दिनुभयो । नागर्जुन नगरपालिकका प्रमुख मोहन बस्नेत र उपप्रमुख सुशीला अधिकारीले अस्पताल निर्माण हुनु नगरवासीका लागि खुशीको विषय भएको उल्लेख गर्दै अस्पताललाई सुविधासम्पन्न बनाउन थप स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।