१३ बैशाख २०८१, बिहीबार

सडकबाट बेसहाराको उद्धार तीव्र

sadak manab 1

काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो ।

उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका अनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त अभियान सञ्चालन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सडकका कोही भोकै रहँदैन, भोकले कोही मर्दैन त्यसको जिम्मा सरकारले लिन्छ भनेर यसअघि नै घोषणा गरिसक्नुभएको छ । सोही योजनाअनुसार यो वर्षभित्रै काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने तयारी थालिएको छ ।

आश्रमका प्रवक्ता सुमन बर्ताैलाले काठमाडौँ, ललितपुर र भक्तपुरमा रात्रीकालीन र दिउँसोमा समेत उद्धार अभियान थालिएको जानकारी दिनुभयो । सोही अभियानका क्रममा पछिल्लो एक हप्तामा मात्रै १५ जनाको सडकबाट उद्धार गरिएको छ । उनीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरको आश्रममा लगेर राखिएको छ ।

“गत वर्ष नै उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने योजना कोरोनाका कारण सफल हुन सकेन, अब छिट्टै घोषणा गर्ने गरी काम थालिएको छ”, प्रवक्ता बर्ताैलाले भन्नुभयो । घोषणाका लागि काठमाडौँ महानगरलगायत विभिन्न स्थानीय तह, सङ्घीय सरकारका सरोकार राख्ने मन्त्रालयसँग समन्वय भइरहेको जनाइएको छ ।

काठमाडौँ उपत्यकामा सहयोगापेक्षी सडक मानव न्यून रहे पनि पेशेबर मगन्तेका कारण समस्या भइरहेको छ । उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण छ । सरकारले आगामी विसं २०७८ भित्र मुलुकलाई नै बेसहारा सडक मानव मुक्त बनाउने योजनाअघि सारेको छ । आश्रमले अहिले मुलुकका विभिन्न सातै प्रदेशका २१ स्थानबाट सहयोगापेक्षी उद्धार गरिरहेको छ । हाल एक हजार १०० भन्दा बढीलाई संरक्षण दिँदै आएको छ ।

    सम्बन्धित समाचार...