१५ चैत्र २०८०, बिहीबार

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

School

सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनमा स्थानीय तह’ विषयक छलफलमा जनप्रतिनिधिले कार्यढाँचा आएपछि विद्यालय सञ्चालनको योजना बनाउन सहज भएको जनाएका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल जारी कक्षा १२ को परीक्षा सामाजिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अबको विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बताउनुभयो । उहाँले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा दिँदै विद्यालय सञ्चालन गर्दा बालबालिकाको चाहना सम्बोधन हुने र उनीहरु कुलतमा फस्ने सम्भावना कम हुने जनाउनुभयो ।

लमजुङको मस्र्याङ्गी गाउँपालिकाकाका अध्यक्ष अर्जुन गुरुङले कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको माापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । उहाँले विद्यार्थी सङ्ख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय सञ्चालनका क्रममा अभिभावक पहिलो उपभोक्त भएकाले उनीहरुसँग परामर्श लिइ सहयोग लिने वातावरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले योजना बनाउनुपर्ने बनाउनुभयो । उहाँले विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्न र विद्यालयमा क्वारेन्टिन वा अस्पताल नराख्न आग्रह गर्नुभयो ।

शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले आपत्कालीन अवस्थामा विद्यालय बन्द हुन सक्ने भए पनि शिक्षा निरन्तर चल्नुपर्ने भएकाले नयाँ कार्यविधिले विद्यालय सञ्चालनका लागि सहजता दिएको औँल्याउनुभयो ।

भक्तपुरको वासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईंच्याईंले वैकल्पिक माध्यमको पढाइका लागि सूचना र प्रविधिमा स्थानीय तहले लगानी गर्नुपर्ने बताउनुभयो । शिक्षा पत्रकार समाजका प्रदेश नं २ का संयोजक सुरेश यादवले नयाँ कार्यढाँचा आएपछि विद्यालय सञ्चालनका लागि स्थानीय तह सक्रिय भएको र बन्दाबन्दीका समयमा पनि आसमान नेपाललगायतका संस्थाले समुदायस्तरमा स्वयंसेवक परिचालन गरी पढाइ सञ्चालन गरेको अनुभव सुनाउनुभयो ।