१३ बैशाख २०८१, बिहीबार

‘स्वास्थ्योपचारको क्षेत्र आमूल परिवर्तनको दिशातर्फ’

Dormani poudel

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौँडाको स्वास्थ्योपचारको क्षेत्र आमूल परिवर्तनको दिशातर्फ उन्मुख हुँदै गएको बताउनुभएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा सञ्चालनको क्रममा रहेको सघन उपचार कक्ष (आइसियु)को निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले हेटौँडा अस्पतालमा आइसीयू सञ्चालन पश्चात् मकवानपुर र आसपासको स्वास्थ्योपचारको क्षेत्रमा वरदान सावित् हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले मानवका लागि अत्यावश्यक पर्ने उपचार सेवा गुणस्तरीय र भरपर्दो हुनुपर्ने तथा हरेक उपकरणले युक्त हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशका सबै स्थानीय तह र जिल्लामा स्वास्थ्योपचार सेवा सहज बनाइने बताउनुभयो । हेटौँडा अस्पतालमा आगामी १५ गतेदेखि आइसीयू तथा एचडियू सेवा सञ्चालन गरिने जनाइएको छ ।

यसैगरी, मुख्यमन्त्री पौडेलले आजै हेटौँडा–८ कमानेमा रहेको सामुदायिक भवनसमेत अनुगमन गर्नुभएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान केन्द्र निर्माणका लागि प्रयोगमा ल्याउन सकिने वा नसकिने भनी सामुदायिक भवनको अवलोकन गरिएको जनाइएको छ । सामुदायिक भवनको मुख्यमन्त्री पौडेलसहित जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशी, रेक्ट्रर डा सतिस देव, रजिस्ट्रार राजेश प्रसाईं, निर्देशक डा हरिबहादुर खड्का, संयोजक चिरञ्जीवी चुडाललगायत टोलीले निरीक्षण तथा अवलोकन गरेको थियो ।